नेपालको प्रसिद्ध तीर्थस्थल तर अझै भारतको भूमि हुँदै जानु पर्ने बाध्यता
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)/ चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीन स्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँदा ओझेलमा परेको हो ।
यहाँ स्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्त्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताएका छन् ।
“आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन् । मन्दिर वरिपरि पुरातात्त्विक अवशेषहरू जताततै छरिएका छन्, तिनको संरक्षण र थप विकास आवश्यक छ । यसमा स्थानीयदेखि सङ्घीय सरकारले विशेष पहल गर्न आवश्यक छ”, उनले भने ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वाल्मीकि आश्रम मन्दिरलाई संरक्षण, संवर्द्धन र विकास लागि पहल भइरहेको बताए । उनले नगरपालिकाले यस क्षेत्रलाई धार्मिक वनका रूपमा विकास गर्ने सोच बनाए पनि राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले समस्या रहेको धारणा राखे ।
माडी–१ का वडा अध्यक्ष अमित कुमार लामाले वडा स्तरबाट हुने खानेपानी र शौचालयलगायतका काम गरिए पनि अन्य पूर्वाधार र संरक्षणका काममा सरकारकै पहल जरुरी रहेको बताए ।
उनले आश्रम पुग्नका लागि भारतको विहार हुँदै जानुपर्ने बाध्यता रहेको र केही महिनाअघि निकुञ्जको जङ्गलमा गोरेटो बाटो बनाइए पनि समस्या समाधान नभएको बताए । उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन् ।
रासस