भोजपुरमा ‘सडक हेरालु’
भोजपुर / भोजपुरमा सडकको मर्मत सम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मत सम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् ।
कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मत सम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडक मार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मत सम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मत सम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।
हेरालुले सानो असावधानीका कारण सडक बिग्रिएर हुने ठुलो क्षतिबाट रोक्न नियमित रूपमा सडकको हेरचाह र मर्म सम्भार गर्ने उनले बताए ।
“हेर्दा सामान्य काम जस्तो देखिन्छ तर सडक सुरक्षाका लागि हेरालुको निकै ठुलो भूमिका हुन्छ । उनीहरूले नियमित रूपमा सडकको हेरचाहसँगै मर्मत सम्भार गर्ने भएका ठुलो क्षति हुनबाट बचाउने अवस्था बन्छ । सडकको बनावटसँगै स्थानीयलाई रोजगारी प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो”, कार्यालय प्रमुख राजनराज रेड्डीले भने ।
एउटा सडकमा मात्र हेरालुको व्यवस्था गरिएको र आगामी दिनमा प्रादेशिक सडकमा सूचीकृत भएका अन्य सडकमा पनि हेरालु राख्ने तयारी भइरहेको उनले बताए।
लेखा अधिकृत चेतबहादुर मोक्तानले छनोटमा परेकाहरूलाई व्यक्तिगत सुरक्षा, सडकको हेरचाहलगायत विषयमा आवश्यक अभिमुखीकरण गरी काममा खटाइएको बताए ।
हेरालुहरूले सडकको सतह मिलाउने, सामान्य पहिरो हटाउने, सडक सरसफाइ गर्ने, ठुला समस्याको तुरुन्त जानकारी दिई थप क्षति हुनबाट जोगाउनेलगायत जिम्मेवारी निर्वाह गर्ने कार्यालयका प्रशासन शाखा प्रमुख अभिषेक बस्नेतले जानकारी दिए ।