‘डिस्काका ओपन’ जुन आठ मा, विश्व क्षेत्रीको अध्यक्षतामा आयोजक समिति गठन

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ‘डिस्का ओपन २०२५’ कराते च्याम्पियनसिप आगामी जुन आठ तारिख अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा हुने भएको छ।
ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) ले च्याम्पियनसिप आयोजना गर्न लागेको हो। डिस्का अमेरिका रहेका नेपाली भाषी भुटानी समुदायमा कराते विकासका लागि सन् २०१६ मा स्थापना भएको संस्था हो।
डिस्काले सन् २०२३ मा पहिलो पटक पेन्सिल्भेनियाको ह्यारिसबर्गमा च्याम्पियनसिप आयोजना गरेको थियो।
डिस्काको वार्षिक साधारण सभा र वेल्ट ग्रेडिङ पछि शनिवार केन्द्रीय डोजो ह्यारिसबर्गमा आयोजित पत्रकार सम्मेलनमा डिस्का ओपन २०२५ को आयोजना मिति औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलनमा जनाइए अनुसार च्याम्पियनसिपलाई भव्य सफल बनाउन नेपाली भाषी भुटानी समुदायका वरिष्ठ समाजसेवी तथा व्यवसायी विश्व क्षेत्रीको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ।
‘डिस्का समुदायमा आधारित कराते हो, समुदायलाई पनि संलग्न गराउन हामीले आयोजक समिति गठन गरेका हौ।’ पत्रकार सम्मेलनमा डिस्काका अध्यक्ष डा. हेमन्त घिसिङले भने, ‘२५ सय जना सिट क्षमता रहेको हलमा हामी यस पटक हामी च्याम्पियनसिप गर्दै छौ।‘
पत्रकार सम्मेलनमा जनाइए अनुसार जेम्बो श्राइन (Zembo Shrine at 2801 N 3rd Street #2, Harrisburg PA.) मा च्याम्पियनसिप हुने छ।
विश्व क्षेत्री अध्यक्ष रहेको आयोजक समितिमा रत्न गुरुङ र अमल थुलुङ उपाध्यक्ष रहेका छन्। यस्तै डिस्काका मुख्य प्रशिक्षक सोके रण राई टूर्नामेन्ट निर्देशक रहेका छन्।
यस्तै आयोजक समितिको सचिवमा सेन्सी राज बराल रहेका छन्। डिस्काका कोषाध्यक्ष सेन्सी टेक नेपाल आयोजक समितिमा पनि कोषाध्यक्षको भूमिकामा रहने छन्।
आयोजक समितिमा डा. मनोज प्रधान र डा. खेम अधिकारी मेडिकलमा, डा. रोबिन गुरुङ स्वयंसेवक संयोजकमा र पर्शु अधिकारी डिजाइन र प्रकाशनको जिम्मेवारीमा रहने छन्।
यस्तै कमिटीको सदस्यमा टीबी गुरुङ, हस्त प्रधान, श्रीमती पुष्प राई गुरुङ, डीबी राई, सेन्सी याम विष्ट, सेन्सी निम लामा, सेन्सी अमर लिम्बू, र सेन्सी डा. हेमन्त घिसिङ पनि रहेका छन्।
पत्रकार सम्मेलनमा जनाइए अनुसार संयुक्त राज्य अमेरिका राष्ट्रिय कराते महासंघबाट आमन्त्रित अधिकारीलाई मुख्य रेफ्री नियुक्त गरिनेछ।
‘यो च्याम्पियनसिप भुटानी अमेरिकी समुदाय बाहिर सबै करातेका लागि खुला छ। ‘आयोजक कमिटीका अध्यक्ष क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ’खेलाडीलाई सीप प्रदर्शन गर्ने अवसर सिर्जना गर्न र भविष्यमा डिस्का डोजो भवनको लागि कोष खडा गर्न च्याम्पियनसिप महत्त्व पूर्ण छ। ‘
डिस्का अध्यक्ष घिसिङका अनुसार च्याम्पियनसिपमा पाँच देखि ४५ वर्ष उमेर समूहका खेलाडीले भाग लिने छन्।
‘डिस्का ह्यारिसबर्ग, डिस्का कार्लिस, डिस्का जर्जिया, डिस्का पिट्सबर्ग, डिस्का एक्रोन, डिस्का कोलम्बस, डिस्का भर्मन्ट, इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (आइएसकेए), आइएमए निहोन कराते डो न्यु योर्क, च्याम्पियन मार्शल आर्ट्स न्यु योर्क, र ड्रुक शितोकाईले अहिले सम्म आफ्नो सहभागिता पुष्टि गरेका छन्।‘पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले भने।
घिसिङका अनुसार च्याम्पियनसिपमा तीन सय ५० जना भन्दा धेरै खेलाडी र ३० जना अफिसियलको सहभागिता रहने छ।
‘काता र कुमितेमा विभिन्न डिभिजन खेल खेलाइने जनाइएको छ।‘पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले भने, ‘कुल पाँच सय ५२ पदकका लागि प्रतिस्पर्धा हुने छ।’
च्याम्पियनसिपमा एक सय ३८ स्वर्ण, एक सय ३८ रजत र दुई सय ७६ कांस्य प्रदान गरिनेछ। च्याम्पियनसिपका लागि ३५ हजार अमेरिकी डलर अनुमानित बजेट रहेको जनाइएको छ।
च्याम्पियनसिपमा समाज टाइम्स डट कम आधिकारिक मिडिया पाटनर रहने छ।
डिस्का ओपनबारेको पत्रकार सम्मेलन भिडियोमा
र यो पनि…