नेपाल प्रिमियर लिगमा पाँच अमेरिकी खेलाडी
काठमाडौँ/ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) संघारमा पुग्दा विभिन्न १६ देशका खेलाडीले नेपालमा आफ्नो कौशल देखाए।
नेपालका झन्डै सय जना खेलाडीसँगै ४० भन्दा बढी विदेशी खेलाडीले एनपिएलका विभिन्न टोलीबाट खेले।
जसमा अमेरिकाका पाँच खेलाडीले एनपिएलमा प्रतिस्पर्धा गरे। जनकपुर बोल्ट्समा दुई जना अमेरिका खेलाडी छन्। जसमा जोशुआ ट्रम्प र मोहमद मोहसिनले खेले।
पाकिस्तान मुलका मोहसिन अमेरिकामा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्नछन्। बलिङ अलराउन्डर मोहसिनले एनपिएलका आठ खेल खेलेका छन्। उनले जनकपुरका लागि कुल नौ विकेट लिए पनि ब्याटिङमा खासै योगदान दिएका छन्। उनले अमेरिका मेजर क्रिकेट लिगमा टेक्सस सुपर किंग्सबाट खेल्दा क्यारेबियन प्रिमियर लिग र पाकिस्तान सुपर लिग समेत खेलेका थिए।
१९ वर्षीय जोशुआ ट्रम्पले एक खेलमा मात्र अवसर पाए। उनले सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा खेलेका थिए। सो खेलमा उनले १३ रन जोडेका थिए। अमेरिकाको राष्ट्रिय टोलीबाट भने उनले खेलेका छैनन्। ट्रम्पले अमेरिकाको मेजर क्रिकेट लिग भने खेलेका छन्। उनी टेक्सस सुपर किंग्समा आबद्ध छन्।
अमेरिकी राष्ट्रिय टोलीबाट खेलिसकेका आन्द्रेस गौसले पोखरा एभेन्जर्सबाट खेले। उनले एनपिएलमा पहिलो शतक बनाउने कीर्तिमान समेत बनाए। लुम्बिनी लायन्सविरूद्ध शतक प्रहार गरेका उनले ६ खेलमा १३४ रन प्रहार गरे। दायाँ हाते विकेटकिपर ब्याटर गौसले दक्षिण अफ्रिकाको यू-१९ टोलीबाट समेत खेलेका थिए।
उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन बनाएका छन्। सन् २०२४ मा क्यानडाविरुद्ध डेब्यू गर्दै उनले अमेरिकाको प्रतिनिधित्व गरेका उनले सन् २०२४ को आइसिसी टी-२० विश्वकप समेत खेलेका थिए।
भारतको यू-१९ टोलीका पूर्व कप्तान उन्मुक्त चन्द अहिले अमेरिका छन्। अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्ने अवसर खोजिरहेका चन्दले नेपालको एनपिएल लुम्बिनी लायन्स बाट खेले। भारतले सन् २०१२ को आइसिसी यू-१९ विश्वकप जित्दा कप्तानी गरेका चन्दले लुम्बिनीका लागि खासै योगदान दिन सकेनन्। उनले चार खेलमा १८ रन मात्र जोड्न सके।
दुई खेलमा त उनी डक आउट भएका थिए। चन्दले भारतको आइपिएल टोली दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र मुम्बई इन्डियनबाट खेलेका थिए। भारतमा चल्न नसकेपछि उनी अवसरको खोजीमा अमेरिका आएका थिए। विकेटकिपर ब्याटर चन्द अहिले अमेरिकाको मेजर क्रिकेट लिग खेल्नछन्। उनले पछिल्लो सिजन लस एन्जलस नाइट राइडर्सबाट खेलेका थिए।
एनपिएलमा खेलिरहेका अर्का अमेरिकी खेलाडी हुन्, हर्मित सिंह। अमेरिकी बलिङ अलराउन्डर सिंहलाई सुदूरपश्चिम रोयल्सले पछिल्ला खेलमा अनुबन्धन गरेको थियो। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न २०२४ को टी-२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह गत साता मात्र सोमबार पुगेका थिए।
उनले २३ टी-२० र १० एक दिवसीय खेलमा अमेरिकाबाट खेलिसकेका छन्। उनी पनि भारतबाट यू-१९ विश्वकप जितेका खेलाडी हुन्। उनले सन् २०१० मा पहिलो पटक यू-१९ विश्वकप खेल्दा सन् २०१२ मा उपाधि जितेका थिए। फाइनल पुगेको सुदूरपश्चिमका लागि उनले चार खेलमा ८ विकेट लिइसकेका छन्।
अमेरिकाबाट खेल्न गएका खेलाडीले कति कमाए ? यो प्रश्नको जवाफ न त क्यानले दिन्छ नत खेलाडीले नै बोल्न मान्छन्।
विदेशी खेलाडीमा भारतका शिखर धवनको तलब मात्र मात्र खुलाइएको छ। शिखर धवनले एक खेलको ३० हजार अमेरिकी डलर लिएको क्यानको भनाई छ। उनले चार खेल खेलेका थिए।
तस्बिर: क्यान