रविको हिरासतको तस्बिर सार्वजनिक प्रकरणमा छानबिन समिति गठन
कास्की । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रहरी हिरासतभित्र सुतिरहेको तस्बिर सार्वजनिक भएपछि घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरिएको छ। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा समिति गठन गरिएको हो।
लामिछाने सिरक ओढेर हिरासतमा सुतिरहेको तस्बिर बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि यसबारे व्यापक बहस भएको छ। तस्बिर रवि लामिछानेका सहयोगी दीपक बोहोराले आफ्नो फेसबुक पेजमा राखेका थिए। तस्बिर सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरीलाई दोष दिँदै आपत्ति जनाएको छ।
तस्बिर खिच्ने जिम्मा भने डा. निकोलस भुसालले लिएका छन्। उनले बिहीबार फेसबुक लाइभमार्फत घटनाबारे स्पष्ट गर्दै तस्बिर हिरासतभित्र नभई सीसीटीभीको मनिटरबाट खिचेको बताएका छन्।
डा. भुसालका अनुसार, गत शनिबार दिउँसो ४ बजे लामिछानेलाई भेट्न हिरासतमा पुगेका बेला, जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’ मा सीसीटीभी फुटेजको ‘डिस्प्ले स्क्रिन’बाट तस्बिर खिचेका हुन्।
उनले भनेका छन्, “भेटेर निस्किएपछि सीसीटीभी मनिटरमा देखिएको दृश्य खिचेको हुँ। यसका लागि म क्षमा माग्छु र कानुनअनुसार सजाय भोग्न तयार छु।”
यो प्रकरणपछि प्रहरीले सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखाएको आरोप लागेको छ। हिरासत क्षेत्रमा सर्वसाधारणको मोबाइल लान प्रतिबन्धित हुने भए पनि भुसालले कसरी मोबाइल लगे र तस्बिर खिच्न सक्षम भए भन्ने प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै तस्बिर सार्वजनिक हुनुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले यस्तो घटना सुरक्षा व्यवस्थाको गम्भीर कमजोरी भएको बताउँदै यसले जारी अनुसन्धानमा असर पुर्याउने चेतावनी दिएका छन्।
तस्बिर सार्वजनिक भएपछि कतिपय राजनीतिज्ञले प्रहरी प्रमुखमाथि कारबाहीको माग गरेका छन्। त्यस्तै, सुरक्षा विज्ञहरूले यस्तो प्रकरणले प्रहरीको कार्यप्रणालीमा विश्वास कम गर्ने र अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।