पिएल सिंहको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने
काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहलाई प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्मरण गरिएको छ ।
नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सामीप्यमा रही नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि योगदान गरेका सिंहले सत्य, निष्ठा र इमान्दारको प्रतीकका रूपमा आफ्नो छवि बनाएको उनका सहकर्मीले प्रतिक्रिया दिएका छन् ।
समाजसेवी हितकरवीरसिंह कंसाकारले हरेक नागरिकदेखि माथिल्लो ओहदामा रहने सबैलाई समान व्यवहार गर्ने सिंह प्रजातन्त्रप्रति अडिग र ज्यादै इमान्दार नेता रहेको बताए ।
मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी भई उनले विसं २०४९ मा तत्कालीन काठमाडौं नगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेका थिए । कंसाकारले भने, “पिएलजी गणेशमानसिंह र मङ्गलादेवीको सामीप्यमा रही राजनीतिक सहयोगीका रूपमा लामो समय काम गर्नुभयो, प्रजातन्त्रवादी योद्धा पिएलले काठमाडौँ नगरपालिकालाई विश्वमा चिनाउन धेरै महत्वपूर्ण कामसमेत गर्नुभएको छ ।”
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट विजयी भएपछि वातावरणमन्त्री बनेका सिंहले त्यसअघि नै काठमाडौँलाई स्वच्छ, सफा र हराभराको नारा दिएर काम गरेका थिए । उनका पिता स्वास्थ्यकर्मी चन्द्रमान सिंहसमेत तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध र प्रजातन्त्रका पक्षमा लामो समयसम्म संलग्न भई काम गरेका थिए ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रप्रति प्रतिबद्ध सिंहले विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनका बेला कुशलतापूर्वक पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेको स्मरण गरे । उनले भने, “गणेशमानजीको राजनीतिक सहयोगीका रूपमा पिएलले काम गर्नुभयो । उहाँ समाजमा सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ भन्नुहुन्थ्यो । स्वच्छ, सफा र हराभरा काठमाडौँ अभियान उहाँले सुरु गर्नुभयो । उहाँ प्रजातन्त्रप्रति निष्ठावान् र अडिग व्यक्ति हुनुहुन्थ्यो ।”
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्व सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३ औँ दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णयसमेत गरिएको पौडेलले बताए।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौँ नगरपालिकाका पूर्वनगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा सोमबार विहान १ बजे निधन भएको हो ।