व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध मुद्दा दर्ता
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रसाईंविरुद्ध अभियोजन दायर गरेका हुन्।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको हो। यसअघि पनि उनीमाथि कानुनी कारबाही भएकाले, कानुनअनुसार सजायमा वृद्धि गर्दै ७ वर्ष ६ महिना कैद माग गरिएको कटुवालले जानकारी दिए।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको आरोप लगाउँदै अफवाह फैलाएका थिए, जसका कारण उनीविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरिएको हो।
प्रसाईंको थुनछेक बहस बिहीबार हुनेछ। यस्तै, उनीविरुद्ध संगठित अपराधको अनुसन्धान पनि जारी रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ।