लङ आईल्याण्डमा पर्वत सेवा समाजको रक्तदान, न्यु योर्कका सांसदले गरे प्रशंसा

न्यु योर्क/ अमेरिकाको न्यु योर्क राज्यको लङ आईल्याण्डको हिक्सभिलस्थित ब्रडवे मलमा पर्वत सेवा समाज न्यु योर्कको आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली समुदायको उल्लेखनीय सहभागिता र समर्पणका कारण यस कार्यक्रमले समाजसेवा र मानवीय कार्यको उदाहरण प्रस्तुत गरेको आयोजकको दाबी छ।
आयोजकका अनुसार कार्यक्रममा ६२ युनिट रगत सङ्कलन गरिएको थियो। कार्यक्रममा सामाजिक व्यक्तित्वको उत्साहजनक उपस्थिति रहेको जनाइएको छ।
प्रमुख अतिथि कुस्मा नगरपालिकाका वडा अध्यक्ष ईश्वर गिरिले विदेशमा रहेर पनि पर्वत जिल्ला वाट अमेरिका आएका नेपाली समुदायले रक्तदानजस्तो पुण्य कार्यमा सहभागिता जनाइरहेकोमा प्रशंसा व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा एकता र सहयोगको भावना थप प्रगाढ बनाउने धारणा राखे।
कार्यक्रममा न्यु योर्क १५ डिस्टिकका सांसद राज्यसभा सदस्य जेक ब्लुमेन्क्रेन्जको व्यक्तिगत रूपमा उपस्थित हुन नसके पनि उनले पठाएको प्रशंसा पत्र वेस्टरवे टाउन अन्तर्गत साउथ एसियन एडभाईजरी बोर्डका सदस्य एवं जाकेका प्रतिनिधि विश्वराज बास्तोलाले कार्यक्रम स्थलमा हस्तान्तरण गरेका थिए। उनले सांसदको तर्फबाट पर्वत सेवा समाजको परोपकारी कार्यप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरे।
यस अवसरमा विश्वराज बास्तोलाले विश्व रक्तदाता, स्वर्गीय अर्जुन मैनालीलाई स्मरण गर्दै उनको योगदानको कदर गरे । मैनालीजस्ता प्रेरणादायी व्यक्तित्वको सम्झनाले रक्तदानजस्ता मानवीय सेवामा सबैलाई प्रेरित गर्ने विचार व्यक्त गरे।

कार्यक्रममा पर्वत सेवा समाजका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू महासचिव, सचिव सहित सबै पदाधिकारी तथा सदस्यहरू लङ आईल्याण्ड नेपाली समाजका पूर्व अध्यक्षहरू टिका ढकाल, वसन्त चापागाईँ, समाजसेवी महेश खड्का, मोहन क्षेत्री, र शङ्कर भण्डारी लगायतका अन्य अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै, शङ्कर नारायण प्रजापति, पिपलमणि सिग्देल, विमल डाँगीजस्ता अग्रजहरूको उपस्थिति र योगदानले कार्यक्रमलाई थप बलियो बनाएको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष बाबुराम शर्माले विशेष सक्रियता देखाए। उनले समाजको संस्थागत कार्यलाई अझ सुदृढ बनाउन सहयोग गर्दै रक्तदान जस्ता मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिन समाजलाई प्रोत्साहन गरे।
पर्वत सेवा समाजका अध्यक्ष सूर्य पौडेलले कार्यक्रममा भएको सहभागिता, सहयोग, र सक्रियताले आफूलाई अत्यन्त उत्साहित बनाएको बताए। उनले यस प्रकारका सेवामूलक कार्यहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रम संयोजक विशाल रेग्मीले रक्तदाता र उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम केवल रक्तदानमा सीमित नभई समाजसेवा र समुदायलाई एकजुट बनाउने विशेष अभियानको रूपमा प्रस्तुत भएको बताए।
‘यसले नेपाली समुदायलाई सेवा र सहयोगमा एकजुट गराउने प्रेरणा दिएको छ।‘रेग्मीले भने, ‘पर्वत सेवा समाजको यस कार्यक्रमले नेपाली समुदायको सामाजिक उत्तरदायित्व र सहयोगको भावना थप सशक्त बनाएको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हुने विश्वास गरिन्छ।‘