गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) (केसी समूह) का अध्यक्ष डा बद्री केसीले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनः सरकारको ध्यानाकर्षण गराएका छन्।
केसीको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार उनले शुक्रवार परराष्ट्र मन्त्रालयका का.मु सचिव अमृत बहादुर राईलाई पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्।
‘गैर आवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि कार्यान्वयनमा भइरहेको ढिलाइले संविधानले प्रदान गरेको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्नबाट वञ्चित भएको उल्लेख गर्नुभयो ।‘ केसी सचिवालयको विज्ञप्तिमा उल्लेख छ।
भेटमा अध्यक्ष डा केसीले गैर आवासीय नेपाली नागरिकता जारी भइसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानुनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानुन निर्माण गर्नका लागि यस मन्त्रालयबाट समेत सहजीकरण गरिदिनु भनेका थिए।
जवाफमा का.मु सचिव राईले गैर आवासीय नेपाली नागरिकता जारी हुनुअघि नै त्यसको कार्यान्वयनको लागि आवश्यक कानुन निर्माण नभएकोले समस्या भएको विज्ञप्तिमा भनिएको छ।
‘वास्तवमा संविधानले आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार दिने भनेको छ तर त्यसको लागि आवश्यक कानुन निर्माण नहुँदै नागरिकता जारी भएको छ । त्यसमा पक्कै पनि त्रुटि भएकै हो । अब अहिले बल्ल एनआरएन एक्टको मस्यौदा भएको छ त्यो कानुन बनेपछि के कसो गर्ने थप स्पष्ट होला ।’ कामु सचिव राईको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।
भेटमा अध्यक्ष केसीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) लाई पनि सम्बोधन गर्न अनुरोध गरेको जनाइएको छ।
उक्त अवसरमा अध्यक्ष केसीले हाल जारी इराकमाथिको प्रतिबन्ध हटाउन पुनरावलोकन गर्न पनि आग्रह गरेको उल्लेख छ।
‘इराकको कुर्दिस्तानमा ठुलो संख्यामा नेपालीहरू विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका छन् । ती नेपालीहरूलाई पासपोर्ट नवीकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिनको लागि कुवेत स्थित नेपाली दूतावास तोकिएको छ तर कुवेत र कुर्दिस्तानवीच आन्तरिक द्वन्दको कारणले आवत जावत बन्द छ । यसर्थ उक्त सुविधा कतार तथा युएईको नेपाली दूतावासबाट पाउने गरी व्यवस्था गर्न जरुरी छ ।’ केसीले भनेका थिए।
जवाफमा का.मु सचिव राईले उक्त विषयमा मन्त्री स्तरीय निर्णय गरी छिट्टै पुनरावलोकन गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
सो अवसरमा रुसमा बर्षौ देखी विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौँ नेपालीहरूका लागि सहज रूपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन एवं नो अब्जेक्सन लेटर समेत तत्काल खारेज गरी उक्त प्रक्रियालाई सहजीकरण गर्न, चेक रिपब्लिकमा कोभिड–१९ पछि श्रम स्वीकृति नवीकरण रोकिएकोले पुनः श्रम स्वीकृति एवं नवीकरण कार्यलाई सहजीकरण गरिदिन पनि अध्यक्ष केसीले ध्यानाकर्षण गराएको भनिएको छ।
भेटमा संघको तर्फबाट अध्यक्ष डा केसीले गैर आवासीय नेपाली नागरिकता तथा गैर आवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाइ हुने थाइल्यान्ड, म्यानमार, मलेसिया, फिँजी लगायतका देशहरूमा पुस्तौँदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रूपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैर आवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्नको लागि पहल गरिदिन आग्रह गरिएको छ।
गैर आवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैर आवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरूलाई पनि सोही परिभाषाभित्र समेट्न,संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हुँदा यथाशीघ्र उक्त धारा परिवर्तन गर्न आवश्यक पहल गरिदिन पनि केसीले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, विदेशमा नेपालीहरूको बाक्लो उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन तथा नियोग वा दूतावास नभएका तथा नेपालीहरूको बढी घनत्व भएका देशमा गैर आवासीय नेपाली संघको सुझावमा मानार्थ प्रतिनिधि नियुक्त गर्न, गैर आवासीय नेपालीहरूको मागहरूको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न पनि केसीले अनुरोध गरेको जनाइएको छ।
सो अवसरमा नेपाल सरकार द्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैर आवासीय नेपालीहरूलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरूलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधा प्रदान गर्न,विदेशका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई पासपोर्ट नवीकरणको लागि पासपोर्ट प्रदान गर्ने टोली खटाउनको लागि सहजीकरण गर्न र ब्रिटिस गोर्खा सैनिकको समान हक तथा अधिकार लगायतका विषयहरूलाई कूटनीतिक माध्यमबाट समाधानका लागि पहल गरिदिन समेत केसीले आग्रह गरेको भनिएको छ।
‘अध्यक्ष डा केसीले विदेशमा रहेका गैर आवासीय नेपालीहरू नेपालमा आउँदा आन्तरिक हवाई भाडा विदेशी सरह लिने गरेकोले उक्त असमान व्यवस्थालाई हटाउन समेत अध्यक्ष डा केसीले आग्रह गर्नुभयो । जवाफमा कामु सचिव राईले क्रमशः सबै समस्याहरू समाधान हुने बताउनुभयो । उहाँले सम्बद्ध मन्त्रालयहरूसँग पनि समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।‘ केसी समूहको सचिवालयको विज्ञप्तिमा उल्लेख छ।