शान्ति प्रकृया टुंगो लाग्न लागेकोमा अन्तर्राष्ट्रिय समूदाय खुसी छ
काठमाडौं । नेपालको भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुङ्गिन थालेकामा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताएका छन् ।
आइतबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नेपालको प्रगति आफूहरुका लागि खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
साथै उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद पनि दिएका थिए ।
सहायकमन्त्री लुले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिकी सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए ।
प्रचण्डसँगको भेटमा अमेरिकी राजदूत डिन थम्सन र माओवादी केन्द्रका नेता वर्षमान पुन पनि सहभागी थिए ।