ओलम्पिक कमिटीलाई साधारणसभा रोक्न राखेपको पत्र

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई आगामी मङ्गलबार गर्ने भनिएको साधारण सभा नगर्न निर्देशन दिएको छ। राखेपले उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशको आधारमा एनओसीलाई यस्तो पत्राचार गरेको हो।
नेपाल रग्बी संघलगायतले उच्च अदालत पाटनमा ०८१-WO-१०३१ नं. को उत्प्रेषण/परमादेशसम्बन्धी रिट दायर गरेका थिए। यसमा मिति २०८१ मंसिर १७ गते उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
आदेशमा भनिएको छ, २०८१ मंसिर १८ गते का लागि तय गरिएको एनओसीको विशेष साधारण सभामा विधान संशोधन गर्ने निर्णय गर्दा, विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने र रिट निवेदकहरूलाई अपूरणीय क्षति पुग्न सक्ने भएकाले विधान संशोधन नगर्नू र नगराउनु।
उक्त आदेशको जानकारी राखेपलाई गराएपछि, परिषद्ले अदालतको आदेशको प्रतिलिपि संलग्न गरी नेपाल ओलम्पिक कमिटीलाई विशेष साधारण सभा स्थगित गर्न पत्राचार गरेको हो। राखेपले पत्रमार्फत अदालतको आदेशको पालना गर्न एनओसीलाई स्पष्ट रूपमा निर्देशन दिएको छ।
नेपाल ओलम्पिक कमिटीले आफ्नो विधान संशोधनका लागि विशेष साधारण सभा आयोजना गर्ने घोषणा गरेको थियो। तर, नेपाल रग्बी संघलगायतले यो प्रक्रिया कानूनी रूपमा त्रुटिपूर्ण भएको दाबी गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
यस विषयमा एनओसीको तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। तर, राखेपको पत्र र अदालतको आदेशले साधारण सभालाई अघि बढाउन थप चुनौती खडा गरेको छ।