प्रधानमन्त्री र मक्सबीच संवादले नेपाली व्यवसायी त्रसित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अत्यन्त विश्वासपात्र तथा धनाड्य व्यक्ति एलन मक्सबीचको वार्ताले नेपाली बजार तताएको छ ।
जनवरी २० मा ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि महत्वपूर्ण जिम्मेवारी पाउनलाई ठिक्क परेका मक्ससँग प्रधानमन्त्री ओलीले शुक्रबार भर्चुअल संवाद गरेका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मक्समार्फत नव निर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई दिए । यसैगरी मक्सलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । ट्रम्पका नजिकका व्यक्ति मक्स भएकाले उनीसँगको संवादलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
मक्सको स्याटेलाइट कम्पनी स्टार लिंकको विषयमा पनि प्रधानमन्त्री ओलीसँग कुरा भएको छ । स्टारलिंक कम्पनीले विश्वव्यापीरुपमा सस्तो मूल्यमा इन्टरनेट विस्तार गर्ने योजना नै बनाएको छ । ओलीसँगको भर्चुअल संवादमा मक्सले स्टार लिंकले गरिरहेका काम र सेवाबारे कुरा राखेका थिए ।
स्पेस एक्सका पनि मालिक रहेका मक्सले नेपालमा कानुनी जटिलता नहुने भए सस्तो मूल्यमै इन्टरनेट सेवा दिन सक्ने प्रस्ताव नै गरेको बुझिएको छ । स्टार लिंकका प्रतिनिधिहरुले यसअघि नै आफ्नो सेवाबारे प्रधानमन्त्री ओलीलाई डेमो पनि देखाएका थिए ।
प्रधानमन्त्री ओली र एलन मक्सबीचको संवादपछि इन्टरेन सेवा प्रदायक कम्पनीहरु भने त्रसित देखिएका छन् । अहिले नेपालमा फाइबरमार्फत इन्टरेनट सेवा भित्रिएको र यो महँगो भएको टिप्पणी भइरहेका बेला स्याटेलाइटमार्फत आउने स्टार लिंकको इन्टरनेट सस्तो हुँदा नेपालमा हाल सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायकहरुको व्यवसाय भने कम्जोर हुने सम्भावना रहेको छ ।