प्रधानमन्त्रीको चीन भ्रमण, नेपाली राजनीति नै तरंगीत
काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता गठबन्धन अनि त्यसबाट सिजित नयाँ परिस्थीतिमा गत असार ३१ गते केपी शर्मा ओली नेपालमा प्रधानमन्त्री भए ।
उनै प्रधानमन्त्री ओलीले डिसेम्बर २ देखि ६ तारिखसम्म उत्तरको छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्दै छन् । तर, अहिले चिसिँदै गएको नेपालको मौसम प्रधानमन्त्रीको चीन भ्रमणले भने निकै गर्माएको छ । नेपालका प्रधानमन्त्रीहरुले पहिलो विदेश भ्रमण भारत अनि त्यसपछि मात्रै चीन जाने परम्परा जस्तै बनेको थियो । हुन त यो परम्परा विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोडेका पनि थिए ।
आज भन्दा १८ वर्ष अगाडि सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौता पछि माओवादी शान्तिपूर्ण राजनीतिमा अयो । त्यसपछि भएको संविधान सभा चुनावामा पहिलो दल भएपछि प्रचण्ड २००८ मा प्रधानमन्त्री बने (२०६४को संविधानसभा निर्वाचनपछि) उनी प्रधानमन्त्री बनेको एक सातामै चीनको भ्रमण गरे । त्यतिबेलाको कारण थियो ओलम्पिक्स समापन । तर, यसलाई भारतीय पक्षले फिटिक्कै रुचाएको थिएन । ओलम्पिक्समा गए पनि उनले त्यतिबेला बेइजिङमा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग प्रचण्डको भेट भएको थियो ।
प्रचण्डले चीन भ्रमण गरेपछि नेपालमा नेपालका प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गरेको भनेर निकै चर्चा भएपछि प्रचण्डले चीन भ्रमणबाट फर्के लगत्तै आफ्नो प्रथम औपचारिक भ्रमण भारतबाट हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको हैसियतमा गरिएको चीन भ्रमण अनौपचारिक नै भनेर उनले प्रष्टिकरण दिएका थिए । त्यसपछि उनी लगत्तै भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणमा नयाँ दिल्लीको मेजमानी मान्न पुगेका थिए ।
प्रचण्डको उक्त घटना पछि अहिले फेरि केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पहिलो विदेश भ्रमण चीनको गर्दै छन् ।
परम्परागत रूपमा नयाँ प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमण भारत गर्ने प्रचलनलाई तोड्दै चीन जान लागेको भन्दै ओलीले आलोचना भने खेपिरहेका छन् ।
ओलीले भारतको सट्टा पहिलो भ्रमण चीन रोज्नुको बचाउ गर्दै भने, ‘कुनै धर्मग्रन्थ, संविधान वा संयुक्त राष्ट्रसंघको चार्टरमा लेखिएको छैन कि पहिलो भ्रमण कुनै विशेष देशको हुनुपर्छ ।’ प्रधानमन्त्रीले नेपालका सबै छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्ने पक्षमा आफू रहेको बताउँदै आएका छन् ।
पछिल्लो समय सत्ताबाट हात धुनु परेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणप्रति निरन्तर कटाक्ष गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणलाई नेपालका आर्थिक र पूर्वाधार विकासको दृष्टिकोणमा केन्द्रित रहेको बताए । उनले शुक्रबार आयोजित एमालेको जागरण अभियानलाई सम्बोधन गर्दै भने, ‘मैले यो यात्रा अचानक योजना बनाएर जान लागेको होइन । म फर्किएपछि भ्रमणको रिपोर्ट सार्वजनिक गर्नेछु ।’
तर, ओली अहिले चीन जानुका पछाडि केही कारण पक्कै रहेको उनी निकट व्यक्तिहरुले संकेत गर्छन् ।
ओलीका नजिकका सल्लाहकारका अनुसार, भारतले परम्परागत रूपमा नेपालमा नयाँ प्रधानमन्त्रीलाई पदभार ग्रहण गरेपछि औपचारिक निमन्त्रण दिने गरे पनि यसपटक चार महिना बितिसक्दासम्म यस्तो कुनै निमन्त्रणा आएको छैन ।
प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य एजेन्डामा चीनसँग ऋण माफी र ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गतका परियोजनाहरू रहेका छन् । तर यस विषयमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा कुरा मिल्न बाँकी छ । कांग्रेस विआरआई अन्तर्गत कुनै पनि ऋण लिन नहुने पक्षमा छ ।
कांग्रेस केन्द्रीय सदस्य उदय शमसेर राणाले उच्च स्तरमा छलफल भइरहेको बताउँदै आन्तरिक राजनीतिक खिचातानीलाई छाडेर प्रधानमन्त्रीलाई विदेश भ्रमणमा पठाउँदा बलियो बनाएर पठाउनु पर्नेमा जोड दिन्छन् ।
कतिपयले ओली चीनबाट फर्किए पछि वर्तमान सरकारको आयुको पनि दिनगन्ती सुरु हुने टिप्पणी पनि गर्ने गरेका छन् । यो सरकारको दिनगन्ती सुरु हुनलाई नेपाली कांग्रेस तयार हुनु पर्छ । अहिलेसम्म नेपाली कांग्रेसले चीन भ्रमणकै कारण सरकारको विषयमा टिका टिप्पणी गर्न नहुने पक्षमा छ । उल्टै ओलीले यो सरकारलाई बलियो बनाउनका लागि संयन्त्र नै बनाएका छन् । संयन्त्रले नै चीन भ्रमणको तयारी गर्नका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवालाई जिम्मा दिएको थियो ।
कांग्रेसले अनुदान भने स्वीकार गर्न सकिने अडान राख्दा एमाले भने मिक्सड् मोडेलमा अघि बढ्ने संकेत गर्छ । ऋण र अनुदानको मोडालिटीमा पनि कुरा गर्नु पर्ने पक्षमा एमाले रहेको ओली निकट नेताहरु बताउँछन् । यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको करिब १७ अर्ब रुपैयाँको ऋण माफीका लागि ओलीले प्रयास गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
चीनले आर्थिक सहयोगको सट्टा ऋणका रूपमा लगानी गरेकोमा नेपालमा विवाद भइरहेको छ । अघिल्लो प्रचण्ड सरकारले बीआरआई अन्तर्गतका परियोजनाहरू अगाडि बढाउन अन्कनाए पनि ओली सरकारले यसलाई प्राथमिकतामा भने राखेको छ ।
नेपालका प्रधानमन्त्रीहरूले भारतको पहिलो भ्रमण गर्ने परम्पराको सुरुवात सन् १९६० मा प्रधानमन्त्री बीपी कोइरालाको भारत भ्रमणबाट भएको थियो । तर यसपटक ओलीको निर्णयले नेपाल–भारत र नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपालको कूटनीतिक र आर्थिक रणनीतिमा कस्तो प्रभाव पार्छ, त्यो भने भविष्यले नै देखाउने छ ।