एमालेको जन सभामा ओलीले गरे चीन भ्रमणको चर्चा
काठमाडौं । सत्तारुढ नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरु भएको छ ।
सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा आइपुगेका छन् ।
उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि जम्मा भएका छन् ।
एमालेले यो सभा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा गरेको हो ।
एमालेले सरकारविरुद्ध भइरहेको घेराबन्दी, समाजमा बढिरहेको अराजकतासहितका कुरालाई चिर्न यो सभा गरिएको जनाएको छ ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए ।
ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको बताए ।
यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइनेे पनि बताए ।
ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली कांग्रेससँग कुनै समस्या नरहेको बताएका छन् । २०८४ को निर्वाचन अघिसम्मै कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कायम रहने ओलीले बताएका छन् । उनले अहिले सत्तारुढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे । सरकारको आयुबारे बोल्दै ओलीले अबको १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्ने बताए ।
ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै चीन घुम्न जान नलागेको बताए । उनले भने, ‘देशको हित र भलाईको लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरुलाई सफल बनाउने ढंगले प्रस्तुत गरेको छ ।’ उनले चिनियाँ परियोजना विरआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको पनि बताए ।