अमेरिकाको मासाचुसेट्स केप कडमा देउसी-भैलो
मासाचुसेट्स,अमेरिका/ अमेरिकाको मासाचुसेट्स राज्यको केप कडमा रहेका नेपालीले सामूहिक देउसी भैलो खेलेका छन्। केप कड नेपाली समाजले नोभेम्बर एक तारिख शुक्रवार तिहार शुभकामना तथा देउसी-भैलो कार्यक्रम आयोजना गरेको हो।
समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा हायानीस स्थित केप कड आईरिस भिलेजको सभाकक्षमा कार्यक्रम भएको थियो।
समाजका महासचिव इच्छा खड्काद्वारा सञ्चालित उक्त कार्यक्रम दुवै देशको राष्ट्रिय गानका साथै बालबालिकाहरूले दीप प्रज्वलन गरी औपचारिक रूपमा सुरुआत गरिएको थियो ।
समाजका वरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै २०८१ सालको तिहार, नेपाल संवत् ११४५ र छठ पर्वको उपलक्ष्यमा, केप कड बासी र संसार भरी रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिए।
यसै गरी तिहार विशेष कार्यक्रमका संयोजक क्षेजी शेर्पाले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद दिँदै सबैमा तिहारको शुभकामना दिए।
यस कार्यक्रमको खाना व्यवस्थापन समूहकी संयोजक कुमुदा पोख्रेलले पटलकमा सहभागी भएर आ-आफ्नो घर घरबाट विभिन्न परिकारहरू बनाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको नाम पढेर सुनाउनुको साथै समाजको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरे।
समन्वय गर्ने क्रममा कुनै कमी कमजोरीहरू भएको भएमा आगामी दिनहरूमा सुधार गर्दै लैजाने कुरा प्रस्ट पार्दै कार्यक्रममा उपस्थित सबैलाई तिहारको शुभकामना पनि व्यक्त गरे।
समाजका आजीवन सदस्य डा. सरिता बज्राचार्यले विगतका दिनहरूको स्मरण गर्दै केप कडमा नेपाली समुदायको संख्या दिनानुदिन बढे सँगै समाजले आयोजना गर्ने गरेका यस्ता कार्यक्रमहरूको महत्त्व अझै बढ्दै गइरहेको र सोही अनुसार केप कड नेपाली समाजले सह्रानीय काम गर्दै आएकोमा खुशी व्यक्त गरिन्।
उनले उपस्थित सबैलाई तिहार, नेपाल संवत् ११४५ र छठ पर्वको शुभकामना दिइन्। त्यसै गरी समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले पनि सबैलाई तिहार, नेपाल संवत् ११४५ र छठ पर्वको शुभकामना व्यक्त गर्दै समाजको संस्थागत विकास र प्रभावकारितालाई बढाउन युवा पुस्ताहरूलाई प्रोत्साहित गर्दै लैजानुपर्ने बताए।
तिहार विशेष देउसी- भैलो कार्यक्रमका सांस्कृतिक संयोजक खगेन्द्र राई, सदस्य सिताराम राई र ठग बहादुर तिमल्सिनाको अगुवाइमा समाजका सबै पदाधिकारीहरूलाई तिहारको स्वागत गीतमा सहभागी गराई देउसी भैलो सत्रको शुभारम्भ भएको थियो। यसको साथ-साथै समाजका पदाधिकारीहरूबाट देउसी भैलोलाई दक्षिणा प्रदान गर्ने कार्य सुरु गरिएको थियो। समाजका पदाधिकारीहरू, आजीवन सदस्य लगायत उपस्थित अन्य महानुभावहरूबाट देउसी भैलोलाई दक्षिणा प्रदान गर्ने क्रम कार्यक्रम भरी निरन्तर चलिरहयो।
यसै गरी स-साना नानीबावुहरूले तिहार विशेष देउसी भैलो साथै अन्य गीतहरूमा सामूहिक तथा एकल नाचहरू प्रदर्शन गरी कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाएका थिए। यसरी नयाँ पुस्ताका नानी बाबुहरूले आफ्नो कला संस्कृति प्रति देखाएको चासो, जोस जाँगर र अग्रसरताले यस्ता कार्यक्रमहरूको आवश्यकतालाई थप पुष्टि गरेको छ। स्थानीय कलाकार दिदीबहिनीहरूको धमाकेदार नाचगानका प्रस्तुति पनि अत्यन्त प्रशंसनीय थियो।
समाजका कोषाध्यक्ष विमल खड्का र सदस्य अजय खतिवडाको अगुवाइमा देउसी भैलोको दक्षिणा सङ्कलन तथा व्यवस्थापन गरिएको थियो। कार्यक्रममा नयाँ बनेका आजीवन सदस्य हरूलाई संस्थाका अध्यक्ष केबी राई र सचिव सरस्वती खनाल ले खादा माला लगाएर सम्मान गरी प्रमाण पत्र वितरण गरे भने सचिव खनाल ले आफैले रचना गरेको देउसी भैलोको गीत गाएर सबैलाई मनोरञ्जन दिएका थिए।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष साथै यस कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई तिहार २०८१, नेपाल संवत् ११४५ र छठ पर्वको शुभकामना व्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमूल्य समय, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने सबै महानुभावहरू र कार्यक्रममा तिहारको मिठो मिठो खाना उपलब्ध गराउनु हुने सम्पूर्ण सदस्यज्यूहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे।
उक्त कार्यक्रममा दुई सय जना भन्दा बढी केप कड बासीको उपस्थिति रहेको थियो ।