अमेरिकाको चुनाव: नेपाली भाषी मतदाताको खुसी र निरासा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ढाकाराम पौडेल ४२ वर्षका भए। तर उनले अहिले सम्म मतदान गर्न पाएका छैनन्। भुटानमा जन्मिएमा पौडेल नेपालको शरणार्थी शिविरमा झन्डै दुई दशक बसे पछि १२ वर्ष अगाडि अमेरिका आएका हुन्।
यस पटक उनी मतदान गर्न किनै उत्सुक थिए। त्यसैले नोभेम्बर ५ तारिख मंगलवार बिहान श्रीमती मङ्गलमाया पौडेल सँगै ढाकाराम अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग स्थित लन्टन स्कुलमा रहेको मतदान केन्द्रमा पुगे। उत्साहित हुँदै मतदान गर्न हल भित्र पुगेका ढाकाराम एकै छिनमा निरास हुँदै बाहिरिए। मतदान गर्ने उनको चाहाना अधुरै रह्यो। जबकि उनकी श्रीमतीले भने मतदान गरिन्।
ढाकारामले समयमा नै मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएका कारण भोट दिन नपाएका हुन्।
ढाकाराम मात्र होइन अन्य केही व्यक्तिलाई मतदान केन्द्र पुगेर पनि भोट नहाली फर्कन पर्यो। एउटै परिवारमा सँगै मतदाता नामावलीमा नाम दर्ता गरे पनि भोट दिन नपाएको गुनासो गर्नेहरू पनि भेटिए।
नेपाली भाषी मतदातालाई सघाउन बिहानै देखि ह्यारिसबर्ग वरपरका केही मतदान केन्द्रमा एशियाली रिफ्युजी युनाइटेड एआरयुले स्वयम सेवक खटाएको थियो। समाजसेवी तथा व्यवसायी विश्व क्षेत्री स्वयम पनि दिन भर विभिन्न मतदान केन्द्रमा आफै खटिएका थिए।
ढाकारामहरू फेरि एक पटक मतदान गर्न छुटे पनि अघिल्लो पटकको तुलनामा यस पटक अमेरिकामा नेपाली भाषी मतदाताहरूको संख्या भने बढेको व्यवसायी तथा समाजसेवी टेक गुरुङको अनुभव छ।
त्यसो त ८७ वर्षीय बृख बहादुर गुरुङ आफूले फेरि मतदान गर्न पाएकोमा खुसी थिए। उनी पनि भुटानमा जन्मिएर नेपाल हुँदै अमेरिका आएका हुन्।
जीवन मै पहिलो पटक मतदान गर्ने आउने नेपाली भाषीहरूको संख्या पनि धेरै नै थियो। उनीहरु मतदान केन्द्रमा निकै उत्साहित देखिन्थे।