डिक्सभिल नचका पहिलो नतिजामा ह्यारिस र ट्रम्प बराबरीमा
पेन्सिल्भनिया । अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक नतिजामा कमला ह्यारिस र डोनाल्ड ट्रम्प बराबरीमा छन्। अमेरिकाको न्यू ह्याम्पशायर राज्यको क्यानाडा सिमानामा रहेको सानो सहर डिक्सभिल नचमा मध्यरातपछि पहिलो मतदान सम्पन्न भयो, जहाँ ६ मतदाताले मतदान गरे। २०२० मा यहाँ सबै मतदाता जो बाइडेनको पक्षमा उभिएका थिए, तर यस पटक ह्यारिस र ट्रम्पबीच मत बाँडिएको छ।
डिक्सभिल नचको यो परम्परा १९६० देखि निरन्तर चल्दै आएको छ। यहाँ मध्यरातमै मतदान शुरु हुन्छ र तुरुन्तै समाप्त गरिन्छ। अन्य स्थानमा भने बिहान ५ बजे भर्मोन्ट राज्यमा पहिलो पटक मतदान शुरू भएको छ, र पूर्वी तटीय क्षेत्रमा प्रायः मतदान केन्द्रहरु बिहान ६ बजेबाट खुला भएका छन्। यहाँ करोडौं मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ।
यो इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय चुनाव हुनसक्ने भनिएको छ। ह्यारिस र ट्रम्पबीच सात प्रमुख राज्यहरूमा तिब्र प्रतिस्पर्धा भइरहेको छ, जसले अन्तिम नतिजा निर्धारण गर्नेछ। प्रारम्भिक नतिजा आज साँझ ७ बजेबाट सुरु हुने अनुमान छ, तर सम्पूर्ण परिणाम घोषणा गर्न केही दिन लाग्न सक्ने सम्भावना छ। २०२० को चुनावमा पेन्सल्भेनिया राज्यको नतिजा आउन चार दिन लागेको थियो, जसले अन्ततः जो बाइडेनलाई ह्वाइट हाउसको कुर्सी दिलाएको थियो।