अमेरिकी चुनाव २०२४ को विभिन्न राज्यमा मतदान सुरु
पेन्सिल्भनिया । अमेरिकामा राष्ट्रपतीय चुनावको उत्साहसँगै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ। मङ्गलबार आठ राज्यहरूमा मतदान सुरु भएसँगै देशभरि चुनावी गतिविधि तीव्र भएको छ। सिएनएनका अनुसार कनेक्टिकट, न्युजर्सी, न्युयोर्क, न्युह्याम्पशायर र भर्जिनियालगायतका राज्यहरूमा अहिले मतदान केन्द्रहरू खुला छन्।
डिक्सभिल नच, न्यू ह्याम्पशायरमा परम्परा अनुसार मध्यरातमै मतदान सुरु भएको छ, जहाँ ट्रम्प र ह्यारिस तीन-तीन मतमा बराबरीमा छन्। इन्डियाना र केन्टकीमा पनि पहिले नै मतदान सुरु भइसकेको छ।
अमेरिकी मतदाताले आगामी चार वर्षसम्मको राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति निर्धारण गर्न मतदान गरिरहेका छन्। अधिकांश स्थानमा मतदान बिहान ६ बजे सुरु भई बेलुकी ८ बजे बन्द हुनेछ।
प्रारम्भिक मतगणना र एग्जिट पोल केही राज्यहरूमा तुरुन्तै उपलब्ध भए पनि अन्तिम नतिजा सम्पूर्ण मतगणना सम्पन्न भएपछि मात्र आउनेछ। पहिलो मतदान जर्जियासहित पूर्वी समय अनुसार साँझ ७ बजे बन्द हुनेछ भने अन्तिम मतदान अलास्का र हवाईमा पूर्वी समय अनुसार मध्यरात बन्द हुनेछ।
राष्ट्रपतीय दौड मुख्यत: डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच देखिएको छ। उपराष्ट्रपति ह्यारिस पहिलो महिला र भारतीय मूलकी राष्ट्रपति बन्ने आकांक्षामा हुनुहुन्छ भने ट्रम्प ह्वाइट हाउसमा पुनः फर्कने लक्ष्यमा छन्।
सर्वेक्षणले ट्रम्प र ह्यारिसबीचको दौडलाई निकै नजिकको देखाएको छ। एबिसी न्युजको फाइभ थर्टी एट सर्वेक्षणमा ह्यारिसले ट्रम्पलाई १ प्रतिशत विन्दुमा पछाडि पार्नुभएको छ भने अन्य सर्वेक्षणहरूमा दुई उम्मेदवारबीचको समर्थन लगभग बराबर रहेको छ।
यस पटकको चुनावले अमेरिकाको मात्र नभई विश्व राजनीति र अर्थतन्त्रमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ, जसका कारण विश्वभरको ध्यान यस चुनावमा केन्द्रित भएको छ।