अमेरिकामा यसरी गरियो गाई पूजा …
बाल्टिमोर, मेरिल्याण्ड/ ८४ वर्ष उमेर नाघेकी चितवनकी गङ्गादेवी अधिकारीले अमेरिका आउजाउ गर्न थालेको एक दशक बढी भयो। उनले थुप्रै तिहार अमेरिकामा मनाएकी छिन् ।
यस पटक भने उनका लागि विषेश रह्यो। कारण उनले अमेरिकामा पहिलो पटक गाईको पुजा गर्न पाइन। छोरा रामचन्द्र अधिकारी सँगै मेरिल्याण्डमा रहेको हिन्दु बौद्ध मन्दिरमा शनिवार बिहान भेटिदा उनी प्रफुल्ल थिइन्।
त्यसो त घुम धामका लागि एक महिना अगाडि मात्र अमेरिका आएकी सुनिता थापा पनि तिहारको दिन गाई पूजा गर्न पाउँदा खुसी थिइन्।
नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोर अन्तर्गत हिन्दु बुद्ध मन्दिर र पर्वत समाज अमेरिकाले तिहारमा गाई पूजाको व्यवस्था गरिदिएका हुन्। दुई वटा गाईका बाच्छीलाई मन्दिर परिषरमा ल्याइ शनिवार दिनभर पूजा गर्ने व्यवस्था गरिएको थियो।
हिन्दु धर्ममा गाईलाई आमा मानिन्छ। यस्तै गाईलाई लक्ष्मीको रूपमा पनि पूजा गर्ने गरिन्छ। यम पञ्चक अर्थात् तिहारमा एक दिन गाईको झन् विषेश पूजा हुन्छ। जसलाई गाई तिहार पनि भन्ने गरिन्छ।