लिग टूमा अमेरिकासँग नेपाल पराजित
पेन्सिल्भेनिया। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। शनिबार भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४४ रनमा सिमित भएको हो।
नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए, जसमा उनले ८० बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, सोमपाल कामीले २७ बलमा ४७ रनको आक्रामक इनिङ्स खेले, जसमा ४ चौका र २ छक्का समावेश थिए। कुशल मल्लले ३३ रन, दीपेन्द्र सिंह ऐरीले ३१ रन, कुशल भुर्तेलले २९ रन, र आरिफ शेखले २१ रनको योगदान दिए।
अमेरिकाका सौरभ नेत्रभाल्करले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने साड्ली भान स्काल्कवाक र नोस्थुस केन्जिगेले २–२ विकेट हात पारे। जसदीप सिंह र हरमित सिंहले पनि १–१ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनायो। अमेरिकाका साइतेजा मुकामालाले सर्वाधिक ७५ रन बनाए भने कप्तान मोनांक पटेलले ६७ रनको शानदार इनिङ्स खेले। हरमित सिंहले पनि ५९ रनको महत्वपूर्ण योगदान दिए। नेपालका गुल्सन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे भने कुशल भुर्तेलले १ विकेट लिए।
यो शृङ्खलामा अमेरिकाविरुद्ध नेपालको लगातार दोस्रो हार हो। पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले हराएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्याण्डको सामना गर्नेछ।