रालेमा देवकोटा जयन्ती सम्पन्न
कृष्णराज खनाल
राले, अमेरिका । नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती यहाँ सम्पन्न भएको छ ।
नेपाली राष्ट्रिय गान र देवकोटाको तस्वीरमा माल्यार्पणपछि सुरु भएको सो कार्यक्रमका वक्ताहरुले देवकोटाको काव्य र समग्र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए साहित्यकार ईश्वर देवकोटाले महाकविको महाकवित्वका बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रममा महाकवि देवकोटाको प्रकाशित पहिलो कविता पनि वाचन गरिएको थियो ।
नर्थ क्यारोलिना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा शिव पलास, पारु तिमल्सिना, प्रमिला अधिकारी, डा.ऋषि वस्ताकोटी, भगवती न्यौपानेलगायत सर्जकहरुले आआफ्नो कविता वाचन गर्नुभएको थियो ।
त्यस अवसरमा शरद निरौलाको नियात्रा संग्रह एटलान्टिकदेखि प्रशान्त महासागरसम्म का बारेमा नगेन्द्र न्यौपाने, मनोज प्रधान र ईश्वर देवकोटाले चर्चा गर्नुभएको थियो ।
नर्थ क्यारोलिना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा साहित्यकार शरद निरौला र विशेष अतिथि मञ्जु निरौला उपस्थित हुनुहुन्थ्यो ।
कवयित्री नम्रता गुरागाईले सञ्चालन गर्नुभएको सो कार्यक्रममा एनसीएनसीका अध्यक्ष विकास शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा अध्यक्ष दुलालले धन्यवाद ज्ञापन गर्नभएको थियो ।