माओवादी केन्द्रको विरोध जुलुस फोटोमा हेरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा भ्रष्टाचार र अनियमितताको विरोधमा आयोजना गरेको खबरदारी सभाअघि जुलुसको सुरुवात भएको छ।
बामगती, उपत्यका विशेष, र सम्पर्क समन्वय प्रदेश समितिको नेतृत्वमा सुरु भएको यो जुलुस सुन्धाराबाट रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ।
खबरदारी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित भ्रष्टाचारविरोधी अभियान, पुनर्निर्माण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको माग गर्दै खबरदारी सभाको आयोजना गरेको हो।
विपत् व्यवस्थापनमा देखिएको सरकारी कमजोरीका कारण बेपत्ता नागरिकको खोजी, राहत वितरण, घाइतेको उपचार, र अस्थायी आवास निर्माणका विषयमा ध्यानाकर्षण गराउन माओवादी केन्द्रले यो प्रदर्शनको आयोजना गरेको छ।
साथै, माओवादी केन्द्रले यस सरकारअन्तर्गतका ठूला भ्रष्टाचारका दोषीलाई कारबाहीमा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी, र सामाजिक न्यायका मुद्दामा सरकारको गम्भीर ध्यानाकर्षण गराउने तथा लोकतन्त्र र संविधानको रक्षा गर्न दुई दलीय व्यवस्था र राजनीतिक विभाजनको षड्यन्त्रलाई असफल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस खबरदारी सभाले नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरुमा गरिएको निजीकरणको विरोध, शैक्षिक र कर्मचारीतन्त्रमा भइरहेको राजनीतिक हस्तक्षेपको अन्त्य, र मिटरब्याज तथा लघुवित्तपीडितहरूको समस्या समाधानमा समेत ध्यानाकर्षण गराउँदै कालोबजारी नियन्त्रणका लागि दबाब दिने उद्देश्य राखेको छ।
माओवादी केन्द्रले यस खबरदारी सभाबाट राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, र स्वाधीनताको पक्षमा जनदवाव सिर्जना गर्ने उद्देश्य लिएको छ।