एनआरएन एकताको लागि परराष्ट्रको पत्र स्वर्णीम अवसर : शर्मा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को शर्मा समूहका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले संघको एकताबद्धता र भविष्यका लागि अधिकांश सदस्यहरू एकताको पक्षमा रहेको दाबी गरेका छन् ।
एनआरएनए भित्रको पछिल्लो अवस्थाबारे समाजटाइम्सलाई प्रतिक्रिया दिँदै शर्माले भने, ‘केही व्यक्तिहरूले संघको हितविपरीत काम गर्न खोजे पनि उनीहरूको नियत ऐनाजस्तै छर्लङ्ग देखिएको छ ।’
शर्माले परराष्ट्र मन्त्रालयले कात्तिक १ मा पठाएको पत्रलाई संघको एकता महाधिवेशनका लागि महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै, अब सबैले मिलेर अघि बढ्नुपर्ने समय आएको पनि बताए ।
उनले भने, ‘परराष्ट्रको पत्रले एनआरएनएको एकता महाधिवेशनका लागि ठोस आधार तयार गरेको छ, र सबैले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । एकतामा जानुको विकल्प छैन, किनकि विदेशमा रहेका ८० लाख नेपालीहरूले पनि यही चाहना राखेका छन् ।’
शर्माले बद्री केसी पक्षले गर्न लागेको साधारण सभालाई संघको कोषको दुरुपयोग गर्ने प्रयासको रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘बद्री केसी पक्षले संघको कोषमा रहेको रकमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । यो संस्थाको पैसा हो, जसलाई गैरआवासीय नेपालीहरूले आफ्नो गाँस कटाएर दिएको हो ।’
अहिले केसी पक्षले प्रधानमन्त्रीलाई बोलाएर साधारणसभाको उद्घाटन गराउने तयारी गरेको कुरा सुन्नमा आएको बताउँदै प्रधानमन्त्री अहिलेको अवस्थामा कार्यक्रममै जान नहुने तर्क गर्दै साधारणसभा नै रोक्नु पर्नेमा जोड दिए ।
एनआरएनएको एकता महाधिवेशनको अपरिहार्यता औंल्याउँदै, ९९ प्रतिशत सदस्यहरू एकताको पक्षमा रहेको र अबको चुनौती एक प्रतिशतले हालिरहेको भाँजोबाट मुक्त हुनु रहेको बताए ।
उनले भने, ‘एकताको महाधिवेशन अब ६ महिनाभित्रै हुनेछ, किनकि परराष्ट्रको पत्रले एकताका लागि स्वर्णिम मौका दिएको छ । जो यस प्रक्रियालाई अवरोध गर्न चाहन्छन्, उनीहरूको नियत सबैलाई थाहा छ ।’
शर्माले अन्त्यमा भने, ‘एकताको महाधिवेशन नहुने भन्ने कुरै हुँदैन । यदि कसैले परराष्ट्रको आदेश मान्दैन भने, ती व्यक्तिहरूलाई रामराम भन्नुबाहेक केही गर्न सकिँदैन ।’