अमेरिकानिवासी भरत अर्यालद्वारा नेपालका बाढीपीडितका लागि पाँच लाख सहयोगको घोषणा
टेक्सस, अमेरिका । अमेरिकाको टेक्ससमा विगत डेढ दशकदेखि व्यवसायसँगै समाजसेवामा सक्रिय भरत अर्यालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै गोरखा र चितवनसम्म ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी हालसम्म ६२६ जनाको मृत्यु भएको छ भने २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण छ।
बाढीका कारण सडक, पुल, बस्ती तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार करिब ४० किलोमिटर सडक तथा २२ वटा पक्की पुल र ५ वटा बेलिब्रिज बाढीले बगाएको छ।
यस्तो विपत्तिका बेला अर्यालले आफू र आफ्नो परिवारका तर्फबाट सहयोग घोषणा गरेका हुन ।
नेपाली कांग्रेसका महासमिति पूर्वसदस्य तथा पार्टीको जनसम्पर्क समिति विभागका पूर्वसदस्यसमेत रहेका अर्याल टेक्ससमा व्यवसाय गर्दै आएका छन्।
‘देश दुखेको बेला हामीले पनि सहयोग गर्नुपर्छ,’ अर्यालले भने, ‘आफू जहाँ छौँ, त्यहीँबाट आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ।’
उनले देश तथा विदेशमा रहेका नेपालीहरूलाई पनि बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफू जहाँ भए पनि सक्दो सहयोग गर्न आग्रह गरेका छन्।














