एनआरएनएको केसी समूहले २७ र २८ अक्टोबरमा साधारणसभा गर्दै
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. बद्री केसी समूहले अक्टोबर २७ र २८ (कार्तिक ११ र १२ गते) काठमाडौंमा ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने नाराका साथ एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा आयोजना गर्न लागेको छ । काठमाडौंको होटल सोल्टीमा हुने साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार एनआरएन सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा केसी समूहमा महासचिव गौरीराज जोशीले जानकारी दिए ।
पत्रकार सम्मेनलमा जोशीले भने ‘ कार्यक्रमको उद्घाटन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूले आइतबार बिहान साढे ९ बजे गर्नुहुने छ । कार्यक्रममा नेपाल सरकारका माननीय मन्त्रीज्यूहरू, उच्च पदस्थ अधिकारीहरू, स्वदेश तथा विदेशबाट आउने उच्च व्यक्तित्व एवं विज्ञहरूको सहभागिता रहने । यस कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन् र स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तित्वको सहभागिता रहने अनुमान गरिएको छ ।’
कार्यक्रमको पहिलो दिन, २७ अक्टोबर २०२४ मा, नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार, गोर्खा र नेपाली मूलका विदेशी नागरिक (पीएनए)का बारेमा चर्चा गरिनेछ। त्यस्तै जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव र समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणका विषयमा छलफल हुनेछ ।
कार्यक्रमको दोस्रो दिन, २८ अक्टोबर २०२४ मा, राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, र नेपाल पर्यटन प्रवर्धनको नीति निर्माण, अपेक्षा, चुनौती र एनआरएनको भूमिकाका विषयमा सत्रहरू समावेश गरिनेछन् ।
स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख र प्रदेश स्तरका मन्त्रीको सहभागिता पनि रहनेछ । यस कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु र बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने विश्वास लिइएको छ ।
एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीहरू र सरोकारवालासँग छलफल हुने पत्रकार सम्मेलनमा समूहका अध्यक्ष केसीले जानकारी दिए । यसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दीर्घकालीन परियोजनाहरूलाई सहयोग गर्ने आशा गरिएको छ।
साथै, २८ अक्टोबर २०२४ मा गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा पनि आयोजना गरिने छ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरू प्रत्यक्ष र भर्चुअल माध्यमबाट सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन नसक्ने व्यक्तिहरूको लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था गरिएको पनि जोशीले बताए ।
पछिल्लो समय एनआरएन भित्र देखिएको विवादका विषयमा पनि पत्रकार सम्मेलनमा जोशीले असन्तुष्ट समूहलाई एउटै फोरममा राखी असहमति र असमझदारीलाई छलफलमार्फत समाधान गर्ने प्रयास गरिने बताए ।
एनआरएनए अहिले इतिहासकै संघीन मोडमा उभिएकाले केसी समूहले आयोजना गर्न लागेको साधारण सभामा प्रधानमन्त्री उपस्थित हुने भनिए पनि बालुवाटार स्रोतले यस विषयमा अझैं कन्फर्म नभएको बताएको छ । कार्तिक १ गते परराष्ट्र मन्त्रालयले गत चैत २१ गतेको फैसला अनुसार शेष घलेलाई एकताको अधिवेशन गराउनका लागि पत्राचार गरिसकेको अवस्थामा प्रधानमन्त्रीको उपस्थितिलाई धेरै अभियन्ताहरुले चासोको रुपमा नियाली रहेका छन् । पूर्व अध्यक्षहरुले एकताको अधिवेशन गराउनका लागि परराष्ट्रले पत्राचार गरिसकेको अवस्थामा त्यही सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री कार्यक्रममा उपस्थित भएमा संस्था झनै गिजोलिने टिप्पणी गरेका छन् ।
दशौं अधिवेशनबाट समानान्तर गतिविधिहरु सुरु भएको एनआरएनएमा ११ औं अधिवेशन पछि झन् गन्जागोलको अवस्थामा पुगेको छ । त्यसैले सर्वोच्च अदालतको आदेश अनुसार एकताको अधिवेशन हुनु पर्ने आरके शर्मा र विनोद कुँवर समूहले माग गर्दै आएको छ ।