बाढीपीडितलाई माओवादीको एसिया संगठनद्वारा आठ लाख बढी सहयोग
काठमाडौं । नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ। समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन, र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गरेका थिए।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया महादेश संगठन समन्वय समितिलाई धन्यवाद दिएका छन्। उनले नेपालमा बारम्बार आउने विपतपछि उद्धार, राहत, र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिँदै आएको र यसपटक पनि समयमै संकट व्यवस्थापनको नेतृत्व गरेको बताए।
प्रचण्डले पार्टीले देशव्यापी रुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरेको जानकारी दिएका छन्। साथै, प्रवासका पार्टी कमिटीहरूले पनि योगदान गरेकोमा प्रशंसा व्यक्त गरेका छन्। पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरी विपद् क्षेत्रको क्षतिको अद्यावधिक, केन्द्रीय राहतकोषको स्थापना, र विज्ञहरुको टोलीले गरेको अध्ययनको आधारमा सरकारलाई ज्ञापनपत्र बुझाइसकिएको जानकारी पनि दिए।
मानवीय विपदको सामना मिलेर गर्नुपर्ने भन्दै, प्रचण्डले पार्टीले यसपटक दशैं तिहारको शुभकामना आदानप्रदान नगरी, पीडित जनताको दुःखसँग हातेमालो गर्ने कार्यक्रम बनाएको बताए।