वास देखि पुनर्वाससम्म र हिमा कार्कीको सम्झना
नेपालमा भर्खर प्रजातन्त्रको आगमन भएको थियो । निरङ्कुश भनिएको राजाका केही अधिकार सीमित गरिएको थियो । नेपालीहरू उन्मुक्त हुँदै गरेको अवस्था थियो त्यो । समाचार नयाँ नयाँ आउँथे । हामी रेडियो नेपालको घटना र बिचार कार्यक्रमका नियमित श्रोता थियौँ । त्यहीँ समाचार आयो । भुटानको निरङ्कुश राजाले त्यस देशमा पुर्खौँ देखि बसोबास गरिरहेका नेपाली मूलका नागरिकलाई निर्मम दमन चलाएर देश निकाला गरिरहेको छ ।
उनीहरू झापाका विभिन्न ठाउँमा शरणार्थी जस्तो अवस्थामा हुल का हुल आइरहेका छन् । एक पटक मानव अधिकारवादी नेता कृष्ण पहाडीले भुटानका जन पक्षीय नेता टेकनाथ रिजाललाई मरीचमान प्रधानमन्त्री भएको बेला नेपालमा गिरफ्तार गरी भुटानलाई सुपुर्दगी गरेको विरुद्धमा विराटनगरमा विरोध कार्यक्रम गर्नु पर्छ भनेपछि एउटा कविता सुनाएर सहभागी भएको थिएँ ।
भुटान नाम सुनेको थिए र सुनेको थिए त्यहाँ नेपालीहरूको ठुलो बसोबास छ अरे । हाम्रा एक जना काका केटाकेटी अवस्थामै भुटान गएका थिए अरे । उनी झोराहाटमा आउँदा भुटान बाट नै भट्टराईकी छोरी सङ्ग विवाह गरेर काकी सहित आउनु भएको भन्थे । उनी थिए राम प्रसाद खतिवडा । उनलाई हामी भोटाङ्गे काका भनेर चिन्थ्यौ । उनी झोराहाटमा समाजसेवीको रूपमा अहिले ८२ वर्ष को वसन्तमा रमाउँदै छन् झोराहाटमा ।मेरो बसाई झोराहाटमा थियो । तसर्थ मैले शरणार्थी शिविरको पीडा प्रत्यक्ष देख्न पाइन ।
२०६३ साल तिर बेलडाँगीमा एउटा साहित्यिक कार्यक्रमको सिलसिलामा एक पटक र पथरीमा एक पटक पुगेको थिए । २०६२ सालमा विराटनगरमा आयोजित दुई दिने बृहत् गजल गोष्ठी कार्यक्रममा खेम रिजाल , याम थुलुङ , खल्ती पीडित , लगायत साथीहरू कार्यक्रममा आएका थिए । उनीहरूसँग भेटघाट दमकमा भएको बेला मैले नै निम्तो गरेको थिए । पाँच सात जना आएका थिए । उनीहरूलाई शरणार्थी भन्थे तर म उनीहरूलाई अरू सहभागी जस्तै पाउँथेँ । बेलडाँगी जाँदा भने छक्क परेको थिए घरहरू देखेर । नेपाल हुँदा शरणार्थी भएका साथीहरूसँग सङ्गत भए पनि शिविरका बारेमा
कहिल्यै चर्चा गरिएन । तर गजल कविता सुन्दा भने नरमाइलो लाग्थ्यो । उनीहरूको कलमले निरङ्कुश शासकका विरुद्धमा आगोझैँ तातो विद्रोहको जोस पैदा गर्थ्यो । एक पटक नेपालका अग्रज कवि अनिल पौडेल दाइ सङ्ग बाइ एन चम्लागाईको घर गएको थिए । उनी कताबाट थिए त्यस बेला थाह भएन । आफूले भर्खर लेखेको भनेर एउटा पुस्तक दिए साक्षी । त्यो पुस्तकमा माईधारमा आएर बसेका नेपाली मूलका भुटानीहरूको नालीबेली अत्यन्त पीडा र दुखका कुरा लेखिएको थियो । कथा बिर्सिए छु । अहिले फेरि पढ्न खोज्दै छु ।
अहिले म ह्यारिसबर्गमा छु। अचेल साहित्यिक कार्यक्रम,पारिवारिक भेटघाट,अनौपचारिक कुराकानी,फोन सम्पर्क आदि अधिकतर समय नेपाली मूलका भुटानी साथी र इष्टमित्र सङ्ग हुन्छ । जो पुनर्वासको सिलसिलामा यहाँ आएर बसेका छन् । मेरै छोरी पनि बेलडाँगी शिविर बाट आएकी हुनाले पनि पुनर्वास अघि र पछिका कुराहरू अध्ययन गर्ने चाहना लाग्यो । दन्किँदो भुटान,भम्पा पछि वास देखि पुनर्वाससम्म पढी सिद्ध्याए ।
फुटकर लेख रचना र केही कार्यपत्र अध्ययन गर्ने अवसर पनि मिल्यो । भक्त घिमिरेजीको सम्पर्कले पनि मलाई भुटानको इतिहास र आन्दोलनको बारेमा धेरै कुरा को जानकारी मिल्यो । अहिले वास देखि पुनर्वास पढ्दा पढ्दै अचानक मेरी बाल सखा हिमा कार्कीको सम्झना आयो । उनी भुण्टेकार्कीकी छोरी थिइन । अत्यन्त मेहनती तिनको उन्नाइस वर्षको उमेरमा विवाह भएको थियो । उनका बेहुला बनेर आएका थिए भुटानबाट कुनै युवक । हिमाको अनुहार राम्रो थियो । सफा भएर हिड्थीन । सबै सङ्ग हँसिलो भएर बोल्ने । दिल खोलेर हाँस्ने । उनकी आमा उनलाई सानैमा लोग्नेका साथमा छोडेर अर्कै पुरुष सङ्ग हिँडेकी थिई । उ जाँदा भर्खर दुई वर्षकी अर्की छोरी पनि छोडेर हिँडेकी थिई । यसरी हिमा सङ्ग एउटी बैनी पनि थिई । भुन्टे कार्की चुरको व्यापार गर्थे । स्थानीय हाट बजार लगेर पसल फिँजाउँथे । घरमा पनि चुर किन्नेहरू आइरहन्थे । हिमाको विवाह भएर भुटान गएको तीन वर्ष पछि उ माइत आएकी थिई ।
म कतै गएर विराट चोकबाट झोराहाट हुँदै विराटनगर जाने बस पार्कमा बस चढ्न लागेको थिए । बसको झ्यालमा हिमालाई देखेँ । उनलाई देखेपछि मलाई मेरो बाल्यकालले झ्वाप्पै छोप्यो । बसको टिकट लिएर उनी भएको ठाउँमा गए । उनलाई हेरेको उनी भावुक भएकी थिइन । आँखालाई नजानिँदो गरी आँशुले छोप्दै थियो । उनको अनुहार र सम्पूर्ण शरीर हेरेँ । ओहो ! त्यो उन्मुक्त हाँस्ने अनुहार अत्यन्त दिन हीन थियो । चायाले बास गरेको थियो गालामा । कामबाट घर नगई यात्रामा निस्किए जस्ता मैला कपडा । म केही बोल्नै सकिन । उनैले अवरुद्ध आवाजमा भनी साइला सन्चै छौ ? उ मलाई साइला भन्थी । र तिमी भन्थी । म चैँ तँ नै भन्थे ।
मैले उनको बारेमा केही सोधिन र यत्ति भने ठिकै छ ठुली । अरुबेला म उसलाई हिमि भन्थे तर त्यो दिन हिमि भन्न मन लागेन । उसको विवाह भएको थियो २०४१ सालको असारमा । यो भेट थियो २०४४ साल फागुनमा । त्यो बसको भेट नै उनी सङ्ग अन्तिम भेट थियो । उनको विवाह भुटानमा भएको थाह छ । कालो कालो वर्णको उनको बेहुलाका साथमा अरू तीन या चार जना मानिस जन्ती आएका थिए । जे भएपनी विवाह घर हामी केटा केटी भेला भएका थियौँ । पकाउने काम हाम्रै थियो । दिउसोको विवाह थियो । दिन यताउता हाँसो ठट्टामा बिताइयो । चार बजे तिर बेहुली लिएर बेहुलो सहित ती जन्ती आएका मानिस बाटो लागे । त्यस पछि त्यही बसपार्कमा भेटेँ हिमालाई ।
वास देखि पुनर्वाससम्म पढ्दै गर्दा चालीस वर्षपछि झल्यास ती बाल सखाको याद आएको थियो । उनी कता होलिन् । भुटानबाट त्यत्रो मानिस निर्वासित गराइदा ती कहाँ थिइन होला ? उनी पनि शिविरमा आएकी भए आफ्नो माइती गाउँ सम्झेर आउँथिन होला नि झोराहाट । वा उनी भुटान तिरै छन् कि ? या भारत तिर पनि मानिस शरण लिन गएको कथा पढेको थिए । कतै भारत तिर पो छन् कि ? अहिले उनी उमेरको हिसाबले त्यस्तै साठी वर्षको हाराहारी कि भइन होला । कता होलिन् त हिमा कार्की । जसको सम्झना वास देखि पुनर्वास पढ्दै गर्दा एक्कासि आयो ।
वास देखि पुनर्वाससम्म भुटानमा चलेको प्रजातन्त्र र मानव अधिकार आन्दोलनको बयान गरिरहेको सञ्जय जस्तो लाग्छ । जो आन्दोलनका आरोह अवरोहको प्रत्यक्षदर्शी हो । प्रजातान्त्रिक आन्दोलनको बीज कसरी रोपियो । यो कसरी हुर्कियो । यो आन्दोलन हुर्काउन कहाँ कहाँबाट के के प्रयास भए ती सब घटनाको सविस्तार यो पुस्तकमा पढ्न पाइन्छ । समग्र भुटानमा नेपाली मूलका नागरिकहरू कसरी बाँचेका छन् । उनीहरूको देश निर्माणमा कस्तो योगदान थियो छर्लङ्ग पारिएको छ । भुटानको शैक्षिक र आर्थिक अवस्थाको वर्णन चित्रमा देखाएझैँ देखाइएको छ । भुटानी राजपरिवार र तिनीहरूका आसेपासे कति सम्म क्रूर र अमानवीय थिए भन्ने कुरा त महाशुर क्षेत्रीलाई जिउँदै छालाको धोक्रोमा हालेर सुनकोसी नदिमा फालेर हत्या गरेको घटनाले छर्लङ्ग पार्छ । छोरी चेलीलाई अपमान गरेको , नागरिक लाई यातना दिएर , गोली ठोकेर ज्यान लिएको घटनाको फेहरिस्त पढ्दा मुटु काप्छ। वास देखि पुनर्वाससम्म नेपालीमुलका सारा भुटानीहरूको आत्म कथा जस्तो लाग्छ ।
भुटानको दागापेला स्थित सुन्तलेमा जन्मिएका डा. लक्ष्मीनारायण ढकाल धेरै विषयमा उच्छ शिक्षा हासिल गरेका एक राष्ट्र भक्त विद्वान हुन । उनले यो आत्मसंस्मरण लेख्दै गर्दा पटक पटक आफ्नो जन्मभूमि सम्झिएका छन् । माटोको गुन गाएका छन् । भुटानमा उर्लिएकाको प्रजातन्त्र र मानव अधिकारको आन्दोलनले निर्वासित भएका मानिस स्वदेश फर्काउन र आन्दोलन बचाई राख्न अनेक विकल्पहरू प्रस्तुत गरेका छन् । तर पनि आन्दोलन सफल हुन नसकेको कुराले उनी आहत भएका छन् । वास देखि पुनर्वाससम्म पुस्तकको पृष्ठ ९१ मा उनले लेखेको यो भनाइले नै भुटानको आन्दोलन प्रति भारत किन रमिते भयो मात्र होइन आन्दोलन दबाउन सहयोगीको रूपमा प्रस्तुत भयो । उनी लेख्छन् भारत आफ्नो बिस्तार वाद र दादाबाद्को नीतिलाई बदल्ने वाला छैन ।त्यसैले नेपाली भाषीहरूलाई टुक्र्याइराख्न र शक्तिहीन बनाई राख्न चाहन्छ ।
हिमाली भेकलाई कूटनीतिक दृष्टिले ग्रेटर नेपाल बन्न सक्ने भयले उसलाई सधैँभरि सताई रहन्छ । आज हेर्ने हो भने जहाँ जहाँ नेपालीहरूको बसोबास छ ती इलाकाहरूमा ठुला ठुला समस्या भई राखेका छन् । भुटानमा नेपालीहरूको वर्चस्व हुनु भनेको सिक्किम,असम,दार्जिलिङ, डुवर्स आदि क्षेत्रमा एकताबद्ध कायम हुनु हो । उता नेपाल देखि लिएर समग्र उत्तरान्चल र काङगडा सम्म नेपाली भाषी बेल्ट बन्न सक्ने भय भारतलाई छ । त्यसैले मौका पाउना साथ भारत भुटानबाट नेपाली उखेल्न किन पछि पर्थ्यो । ´´यो भारतको कुत्सित चालको मिहिन र सटिक विश्लेषण डा. ढकालले उदाहरण सहित राख्दै नेपालको फितलो कूटनीति र आन्दोलनकारी बिचको एकता दर्बिलो नहुनु पनि भुटानको प्रजातान्त्रिक आन्दोलन असफलताका कारक तत्त्व मानेका छन् ।
विभिन्न शीर्षक दिएर लेखिएका प्रत्येक शीर्षकले कहिले उद्वेलित बनाउँछ , कहिले आक्रोशित बनाउँछ , कहिले रुवाउँछ , कहिले यति गरेको भए आन्दोलन सफल हुने रहेछ नि जस्तो भाव उत्पन्न गराउँछ , एक दुई घटनाले रुन्छे हाँसो पैदा गर्छ । बनारसमा पहिलो चोटि नुन लिन पसल जानू परेको कुरा र वृन्दावनमा हनुमानको स्तुति गरेपछि बाँदरले पछ्याउन छोडेको कुरा दुःखद कुरा भएपनी हँसाउन खोज्छन् ।
पुस्तकले नछोएको विषय केही छैन । भुटानमा सुरु भएको प्रजातान्त्रिक आन्दोलन देखि अमेरिका पुनर्वास र त्यसपछिका सबै खाले समस्या र ती समस्यालाई कसरी निदान गर्न सकिन्छ भन्ने उपाय र सुझाव सम्म उल्लेख गरिएको छ । मेरो लागि यो पुस्तक भुटान,भुटानमा सुरु भएको आन्दोलन,त्यसको असफल ,असफलताले निम्त्याएको समस्या , यो आन्दोलन र समस्या प्रति विभिन्न दात्री निकाय र देशको धारणा र अहिले नेपाली मूलका भुटानी नेपालीको अवस्थाका बारेमा जानकारी दिने गतिलो खुराक बनेको छ ।
यो पुस्तक पढी सके पछि मलाई नेपाल भारतका अगाडि कति निरीह र फितलो कूटनीति देखाउँदो रहेछ भन्ने महसुस भयो । पुस्तक हरेक नेपालीमुलका मानिसले पढ्नु पर्ने खालको छ । अन्य मुलुकमा रहेका नेपालीले आफ्ना स्वजातिय बन्धु बान्धवको अवस्था बुझ्न पनि यो पुस्तक पढ्नु जरुरी छ । यो पुस्तक लेखेर , प्रकाशन गरेर डा. लक्ष्मीनारायण ढकालले भुटानको अतीतलाई जीवन्त राख्न सफल हुनुभएको विश्वास लिएको छु । बधाई छ लेखक डा. लक्ष्मीनारायण ढकाल ।
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
हाल :- अमेरिका
र यो पनि..
ऐना अघि उभिएर सबिन शर्मा
October 23, 2024 @ 10:16 am
[…] […]