असाइलममा झन् कडा नियम ल्याउँदै अमेरिका
वासिङ्गटन डिसी / अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी ( डिएचएस ) ले असाइलम सम्बन्धी नयाँ शुल्क तथा कडा नियमहरू लागू गर्ने घोषणा गरेको छ।
सन् २०२५ मा पारित एच.आर. १ “रिकन्सिलिएसन एक्ट अफ २०२५” अन्तर्गत ल्याइएका प्रावधानहरू कार्यान्वयन गर्न डिएचएसले अन्तरिम अन्तिम नियम मंगलवार सार्वजनिक गरेको हो।
यूएस सिटिजन एण्ड इमिग्रेशन सर्भिस (यूइससीआईएस) ले यसअघि सन् २०२५ जुलाई २२ मा प्रकाशित सूचनामार्फत फारम आइ -५८९ मार्फत दायर गरिने असाइलम आवेदनमा फाइलिङ शुल्क र वार्षिक आश्रय शुल्क लागू गरिसकेको थियो।
सोही व्यवस्थालाई थप कडाइका साथ कार्यान्वयन गर्ने उद्देश्यले नयाँ नियम ल्याइएको हो।
नयाँ नियमअनुसार, आश्रय आवेदन दायर गरेका व्यक्तिले प्रत्येक वर्ष तिर्नुपर्ने वार्षिक आश्रय शुल्क तोकिएको समयभित्र, अर्थात् सूचना प्राप्त गरेको ३० दिनभित्र नतिरेमा उनीहरूको आवेदन सिधै अस्वीकृत गरिनेछ।
त्यस्तै, यदि सम्बन्धित व्यक्तिसँग अमेरिकामा बस्ने वैध कानुनी हैसियत नभएको अवस्थामा उनीहरूविरुद्ध निष्कासन प्रक्रिया समेत सुरु गरिने डिएचएसले जनाएको छ।
साथै असाइलम आवेदन अस्वीकृत भएमा त्यसको प्रत्यक्ष असर रोजगारी अनुमति प्रक्रियामा पनि पर्नेछ।
फारम आइ-७६५ अन्तर्गत दायर गरिएका वर्क परमिटका सबै बाँकी आवेदनहरू अस्वीकृत गरिनेछन् भने यसअघि प्राप्त काम गर्ने अनुमति पनि तत्काल खारेज हुने व्यवस्था गरिएको छ।
नियममा अन्य परिवर्तनहरू पनि समावेश गरिएका छन्। फारम आइ -५८९ गलत तरिकाले दर्ता भएमा तिरेको शुल्क फिर्ता नहुने स्पष्ट गरिएको छ। साथै, टेम्पोररी प्रोटेक्टेड स्टाटस(टीपीएस ) अन्तर्गत रहेका व्यक्तिहरूको रोजगारी अनुमति अवधि अब बढीमा एक वर्ष वा टीपीएसको बाँकी अवधिसम्म मात्र सीमित गरिनेछ।
फारम आइ -१०२ का लागि भने न्यूनतम २४ डलर शुल्क तोकिएको छ।
यो नयाँ व्यवस्था मे २९, २०२६ देखि लागू हुने जनाइएको छ।
सो मितिपछि आवश्यक शुल्क नतिरी पेश गरिएका आइ-१०२ आवेदनहरू अस्वीकृत गरिनेछन् भने वार्षिक आश्रय शुल्क नतिरेका सबै बाँकी आइ-५८९ आवेदनहरू पनि खारेज गरिनेछन्।
डीएचएसले यस नियमबारे सार्वजनिक सुझावहरू जुन २९, २०२६ सम्म संकलन गर्ने जनाएको छ।
नयाँ नियम लागू भएसँगै अमेरिकामा आश्रय खोजिरहेका आप्रवासीहरूका लागि आर्थिक दायित्वसँगै कानुनी जोखिम समेत बढ्ने देखिएको छ।

















