आईस कारबाहीले डर बढायो, नेपाली भाषी भूटानी समुदायमा डिपोर्टेशन बढ्नु दुखद : जेनिल स्टेल्सन
ह्यारिसबर्ग पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको १०औँ कंग्रेसनल डिस्ट्रिक्टमा डेमोक्रयाटिक पार्टीको प्राइमरीकी उम्मेदवार जेनिल स्टेल्सनले यूएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) कारबाहीले डर बढाएको बताएकी छिन्।
नेपाली भाषी भुटानी समुदाय सँग आइतबार ह्यारिसबर्गमा भएको टाउन हलमा उनले नेपाली भाषी भूटानी समुदायमा डिपोर्टेशन बढ्नुलाई दुखद भनिन् ।
‘वैधानिक रूपमा यहाँ बसोबास गर्ने आप्रवासीहरूले समाज निर्माणमा ठूलो योगदान दिएका छन्। तपाईँहरू हाम्रो समाजको मेरुदण्ड हुनुहुन्छ। तर अहिले भइरहेको आईस कारबाहीले डरको वातावरण सिर्जना गरेको छ। चर्च, विद्यालय, अदालतबाट मानिसहरूलाई समातिन्छ,मास्क लगाएर, परिचय बिना। यो ठूलो समस्या हो।’ जेनिलले भनिन्।
भूट्नीज कम्युनीटी अफ ह्यारिसबर्गका पूर्व अध्यक्ष विनय लुइँटेलले सहजी करण गरेको टाउन हलमा जेनिलले आफूहरू कानुनमा विश्वास गर्ने बताइन ।
‘हामी कानूनको शासनमा विश्वास गर्छौँ। यस्तो हुनु हुँदैन।’ उनले भनिन, ‘विशेष गरी भूटानी शरणार्थीहरू, जो कठोर प्रक्रिया पार गरेर आएका छन्, आज धेरै नागरिक वा स्थायी बासिन्दा छन्। तर अहिले डिपोर्टेशन बढिरहेको छ। यो अत्यन्त दुःखद छ।’
‘म कंग्रेसमा पुगेँ भने: यस्ता घटनाको छानबिन गरिनेछ । कानून उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिनेछ ।’ जेनिलले अगाडि भनिन्, ‘मानिसहरूले सुरक्षित, खुशी र स्थिर जीवन बाँच्न पाउनुपर्छ, परिवारसँग, व्यवसायमा।’

पूर्व पत्रकार जेनिलले आफूले समुदायको कुरा सुन्न चाएको र त्यसै अनुसार व्यवस्था गरिने बताइन् ।
‘म तपाईँहरूको आवाज सुन्न चाहन्छु। तपाईँहरूलाई के चाहिन्छ, त्यो बुझ्न चाहन्छु। यदि म निर्वाचित भएँ भने, हाम्रो कार्यालयहरू जिल्लाभर हुनेछन्—बस लाइन नजिक। त्यहाँ तपाईँहरूको प्रतिनिधित्व गर्ने कर्मचारी हुनेछन्।’
पेन्सिल्भेनियाको १०औँ कंग्रेसनल डिस्ट्रिक्टमा रिपब्लिकन प्रतिनिधि स्कट पेरी विरुद्ध नोभेम्बरमा हुने चुनावमा प्रतिस्पर्धा गर्न डेमोक्र्याटिक उम्मेदवारीका लागि जेनिल स्टेलसन र जस्टिन डगलस बीच प्रतिस्पर्धा भइरहेको छ।
स्टक पेरीले सन् २०१८ देखि निरन्तर यो क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन्।
प्राइमरीका दुवै उम्मेदवार पालो पालो नेपाली भाषी भूटानी समुदाय सँग टाउन हलमा सहभागि भएका हुन्। डेमोक्र्याटिक प्राइमरी चुनाव मे १९ मा हुँदै छ । त्यसका लागि मे ४ तारिख सम्म मतदाता नाम दर्ता गर्नु पर्ने हुन्छ ।
जस्टिन डग्लस डाउपिन काउन्टी कमिस्नर बोर्ड अध्यक्ष हुन् । उनले धनी वर्गमाथि कर वृद्धि, तथा यूएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) माथि कडा निगरानी बढाउनुपर्ने बताएउदै आएका छन्।
डग्लसले आइसले गैरकानुनी रूपमा गिरफ्तारी गरिरहेको आरोपसमेत लगाउँदै आएका छन्।
पूर्व टेलिभिजन समाचार प्रस्तोता जेनिल स्टेल्सन २०२४ को चुनावमा स्टक पेरी सँग एक प्रतिशत मतले पराजित भएकी हुन्।
यो क्षेत्रमा राष्ट्रपति डोनाल्ड ट्रम पाँच प्रतिशत मतले विजयी भएका थिए ।

‘पत्रकार भएर मानिसहरूको घरभित्र पस्दा धेरै कुरा सिकिन्छ। मैले धेरै खुसीका क्षणहरू देखेँ, धेरै दुःखका क्षणहरू देखेँ, र धेरै पटक जब कुरा ठिकसँग अघि बढेन, तब पनि मानिसहरूले देखाएको धैर्यता र संघर्ष देखेँ। मैले दशकौँसम्म राजनीतिज्ञहरूसँग कडा प्रश्नहरू सोध्दै बिताएँ।’ टाउन हलमा जेनेलले भनिन् ।
३० वर्षको टेलिभिजन पत्रकारिता छोडेर उनले आफू राजनीतिमा आउनुको कारण पनि जेनेलले नेपाली भाषी भूटानी समुदाय बीचको टाउन हलमा खोलिन्।
‘मेरो काम कुनै राजनीतिक दललाई जवाफ दिनु थिएन, धनी र प्रसिद्ध व्यक्तिहरूको बचाउ गर्नु थिएन। मेरो काम सत्यमा प्रकाश पार्नु थियो र तपाईँहरूले सोधेका प्रश्नहरूको उत्तर सुनिश्चित गर्नु थियो। समय बित्दै जाँदा, जब केही कथाहरू झन् खराब हुँदै गए, मैले सोच्न थालेँ—म कसरी अझ बढी फरक पार्न सक्छु? त्यसपछि मैले कंग्रेसका लागि चुनाव लड्ने निर्णय गरेँ।’ उनले भनिन् ।
जेनेलले महँगी नियन्त्रण, स्वास्थ्य बीमा सुलभताका बारेमा पनि आफ्नो धारण राखेकी थिइन्।
‘कंग्रेसम्यान पेरीले त्यस्ता ट्यारिफ नीतिहरूलाई समर्थन गर्नुहुन्छ जसले दैनिक उपभोग्य वस्तुहरू महँगो बनाउँछ—खाद्यान्न, निर्माण सामग्री, घरायसी सामान। यी ट्यारिफहरू चीनले तिर्दैन—हामीले तिर्छौँ।’ जेनेलले भनिन्’ ‘उहाँले लाखौँ अमेरिकीहरूलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्ने प्रयास गर्नुभयो, ताकि धनी र ठुला कम्पनीहरूलाई कर छुट दिन सकियोस्।’
टाउन हलमा स्वातारा टाउनसिपका कमिश्नर टम कोलनीले जेनिलको सम्भावना राम्रो रहेको बताए । उनले टाउसिपको चुनावमा नेपाली भाषी भूटानी समुदायकी विनिता पुरी राईलाई जिताउन जेनिलले खेलेको भूमिकाको पनि स्मरण गराएका थिए ।

‘म स्पष्ट भन्न चाहन्छु,जेनिल र जस्टिन दुवैको राम्रो साथी हुँ। तर म जेनिललाई समर्थन गरिरहेकी छु, किनकि मलाई लाग्छ उहाँसँग जित्ने सबैभन्दा राम्रो सम्भावना छ।’ कमिश्नर कोलनीले भने, ‘साथै, म यो पनि भन्न चाहन्छु कि जेनिलले धेरै काम गरिसकेकी छन्। विशेषगरी विनिताको उनले जुन स्तरमा समर्थन गरिन्, त्यो अरूले देखाएनन्।’


















