रुम नं. ६९ देखि क्रियामानसम्म !

गण्डकीपुत्र। सन् दुई हजार तेह्र पुनर्वासको क्रममा अमेरिका आइपुगेका नेपाली जाती भुटानीको मनमा कौतुहलता , छटपटी , भय र अनिश्चित अन्योल व्याप्त थियो । एकदम फरक परिवेश र वातावरण । अब के गर्ने होला । कता जाने होला । तिन दिन अगाडि बोल्दै गरेका साथी कता छुटे केही थाह छैन । अब को भेटिएला त्यो पनि थाह छैन । भोलि देखि नयाँ यात्रा सुरु गर्नुपर्ने बाध्यता । भाषा फरक । जीवनशैली फरक । हिँड्ने बाटा र गोरेटाहरू फरक मानौँ यहाँको दिन पनि फरक रात पनि फरक । यस्तै पट्यार लाग्दा सोचाइले केही समय बिताए पनि आफूलाई सम्हाल्नु पर्ने थियो ।
मान्छे भएर उभिनु थियो । जीवनको रथलाई लयमा फर्काउनु थियो । शिविर छोडेर अमेरिका आइपुगेकाको अवस्था प्रायः यस्तै थियो तर मानिस नै यस्तो प्राणी हो जसका अगाडि सम्भावनाका ढोका कतैपनि बन्द भएका हुन्नन् । मात्र ढोका उघार्ने जाँगर हुनुपर्छ । आखिर जीवनले आफ्नो लय बिस्तारै लिन थाल्यो । मानिसमा स्व अस्तित्व को खोजले तीव्रता लिन थाल्यो । आफू हुनुको आत्म बोध चलमलाउन थाल्यो । आफ्नो गर्व गर्ने विषय भनेको अब आफ्नो भाषा र संस्कृति थियो । राष्ट्र अब करिब नभेटिन गरी छुटिसकेको थियो । भावनाको राष्ट्रवादले नागरिकका मौलिक अधिकार स्थापित गर्ने अवस्था थिएन । राष्ट्र जस्तै राष्ट्रियता पनि बिस्तारै रूपान्तरणको सङ्घारमा थियो ।
भोक शक्तिशाली हतियार हो जसले सत्ता उलटपुलट गर्न सक्छ । सारा चुनौती स्वीकार गरेर मानिसलाई अप्ठ्यारोमा लड्न भिड्न प्रेरित गर्छ । जब मानिस एकातिर थान्को लाग्छ । जीवन सहज बन्दै जान्छ । त्यसपछि मनमा नयाँ जिजीविषा हुर्कन थाल्छन् ।कोही खेलमा रमाउँछन् । कोही घुमफिर गर्नमा आनन्द मान्छन् । त्यस्तै कोही आफ्नो भाषा र संस्कृतिको उन्नयनमा आफूलाई समर्पित गर्नुमा नै जीवन सार्थक र सफल भएको ठान्दछन्। यही सपनामा रमाउने हरूमा उत्पन्न भएको भाषा र संस्कृतिको भोकले छटपटाई रहेका युवाहरूलाई एक ठाउँ जम्मा हुने र मनका उद्वेगहरू पोख्ने उत्कण्ठालाई सहज बनाई दियो रुम नं. ६९ ले । ह्यारिसबर्गमा पुनर्वास पछिका दिनमा मानिसहरू बसाई सरेर आउनेको सङ्ख्या बढ्दै गयो । यस्तै परिवेशमा केही युवाहरू जम्मा भएर एकापसमा भेटघाट गर्ने , कविता वाचन गर्ने , अभियान सुरु भयो ।
रुम नं. ६९ इन्ट्रा फाउन्डेसनको अफिस घरमा थियो , इस्ट पार्क ड्राइभमा । बिस्तारै सहभागी बढ्दै गएपछि सविन शर्मा , केशव वैरागी माइलो ,अबि अधिकारी , भोला तिम्सिना , देवी दाहाल दागाने ,पर्मा अधिकारी , जे एन दाहाल , अबिनारायण न्यौपाने , वाइ पी आचार्य लगायतको सहभागितामा यो समूहले सन् २०१३ मा लक्ष्मी जयन्ती मनाएको थियो । ( केही नाम छुटेको होला , जानकारी हुने ले नाम क्रमशः लेखेर सहयोग गर्नु होला ) यो समूह बिस्तारै निष्क्रिय हुन थालेपछि फेरि पनि सङ्गठित हुने प्रयास चली नै रह्यो । जे भएपनि जे गरेपनि ह्यारिसबर्गमा कविता या साहित्यको काम गर्ने पहिलो संस्था रुम नं ६९ नै थियो । रुम नं ६९ को निष्क्रियता बढ्दै गए । भेला हुनेहरू भेला हुन छोडे । त्यसपछि नै फेरि अर्को समूह साहित्यिक गतिविधि सञ्चालन गर्न अगाडि आयो । समूहमा उपस्थिति बढ्दै गए पछि यो समूहले संस्थागत काम गर्ने सल्लाह गर्यो । तत्कालीन समाजसेवी पदम रिजालले संस्था स्थापना गरेर जानू उपयुक्त हुन्छ भनेर नै संस्थागत रूप दिन सन २०१७ मा नवीन भट्टराई को नेतृत्वमा त्रिवेणी साहित्य मञ्चको स्थापना भयो। के नाम जुराउने छलफल भयो ।
बिचारहरू आदान प्रदान भए । संस्कृत व्याकरण का अध्येता पण्डित नारद आधिकारीले अन्ततः नाम जुराए , त्रिवेणी साहित्य मञ्च । अब भने सङ्गठित रूपमा साहित्यको अभियान गतिशील बन्दै गयो । सन् १९१७ मा ह्यारिसबर्गले पायो एउटा गोरेटो जहाँबाट हिँडेर साहित्यको राजमार्ग चौडा गर्नु थियो । नवीन भट्टराईले अभियान गतिशील गर्न लागेकै समय ठुलै बिपद मच्चाउँदै कोरोनाले संसारका अन्य मुलुकमा जस्तै अमेरिकामा पनि आक्रमण गर्यो । सारा गतिविधि ठप्प हुने गरी फैलिएको यो महामारीले लामो समय मानिसलाई हलचल गर्न दिएन ।
नवीन भट्टराईले चाहेर पनि मञ्चको गतिविधि अगाडि बढ्न सकेन ।संसारकै दुई वर्ष अन्योलमा बिते । कोरोना काल सकिएपछि भने बिस्तारै जनजीवन गतिशील हुन थाल्यो । त्रिवेणी साहित्य मञ्च पनि आफ्नो यात्रा अगाडि बढाउँदै जन समक्षमा देखा पर्यो । कोरोना काल पछि महाकवि देवकोटाको सम्झनामा लक्ष्मी जयन्ती मनाएर यात्रा फेरि सुरु गरिएको थियो । देवकोटा जयन्ती , लेखनाथ जयन्ती , भानु जयन्ती बाहेक पनि कार्यक्रम हुँदै गए । कहिले पुस्तक चर्चा , कहिले विमोचन , कहिले समसामयिक विषयमा बहस त्रिवेणी साहित्यिक मञ्चको नियमितता जस्तै हुँदै गए । नवीन भट्टराईको कार्यकाल समाप्त भएर अहिलेको नेतृत्व कवि एवम् लेखक केशव वैरागी माइलोको हातमा आइपुगेको छ । भर्खरै यहाँको सरकारी कार्यालयले त्रिवेणी साहित्य मञ्चलाई गैर नाफा मूलक संस्थाको रूपमा दर्ता भएको प्रमाण पत्र दिएको छ । अब यो मञ्च वैधानिक मान्यता सहित कार्यक्रम गर्न सक्षम भएको छ ।
सन् २०१४ मा केही युवाहरूको पहलमा अर्को एउटा संस्थाले पनि ह्यारिसबर्गमा केही कार्यक्रम आयोजना गर्यो । अनलाइनको माध्यमबाट जोडिएका युवाहरूको समूहले मातृ भाषा संरक्षण समूह नामको संस्था स्थापना गरे जो अहिले विशेष प्रकाशनको काम गर्छ । करिब अढाई दर्जन पुस्तक प्रकाशन गरेको यस संस्थाले व्यक्तिगत र समूहगत रूपमा पुस्तक प्रकाशन गर्दै आई रहेको छ । केशव वैरागी माइलो , धर्मेन्द्र तिम्सिना क्षितिज , पूर्ण नर्जली ,हिमशिखर अधिकारी , नारद सुधामा आचार्य यस संस्थाका संस्थापक सदस्य रहेका छन् । समूहमा काम गर्ने भएकाले यिनले पद विभाजन नगरी काम गर्छन् । यो संस्थाले प्रकाशन गरेका केही कृतिहरू यस प्रकार छन् । समुन्द्र पारिका कलमहरू संयुक्त गजल सङ्ग्रह , कुलागाङ्गृको फेदिमा गजल सङ्ग्रह केशव वैरागी माइलो ,एक अञ्जुली सपना धर्मेन्द्र तिम्सिना क्षितिज , फूलको धार हिमशिखर अधिकारी , बिछोडिएको मन नारद सुदामा आचार्य , तरङ्ग कविता सङ्ग्रह गङ्गाराम लामिटारे , पन्च रत्न र इन्द्रेणी संयुक्त बाछिटा सङ्ग्रह ,बृहत् कविता सङ्ग्रह , एक्जेयल भुटानीको बजूको आत्मकथा , डिल्लीराम आचार्यको विश्लेषणात्मक अध्ययन , एवम् मूल्याङ्कन समालोचना आदि ।
दृढ इच्छा शक्ति र एकताबद्ध प्रयासले संस्था वैधानिक भएपनि आगामी दिन यसलाई गतिशील बनाई राख्न थुप्रै चुनौतीहरू पार गर्नुपर्ने छ । अबको मुख्य चुनौती भनेको मञ्चको आर्थिक सबलीकरण हो । आर्थिक रूपमा संस्था सबल भएनन् भने ती संस्था टिक्नका लागि जेनतेन टिक्ला तर उदात्त भावनाका साथ काम गर्न सक्षम हुँदैनन् । सधैँ दाताहरूसँग हात थापेर कार्यक्रम गर्नु भन्दा आफैँ संस्थाले केही आय आर्जनको विकल्प सोच्दा उपयुक्त हुन्छ कि ? यो कुरा हरेक संस्थाको हकमा उत्तिकै आवश्यक छ ।
विशेषतः हरेक समाजमा आन्तरिक र बाहिरको द्वन्द्व चलिरहेको हुन्छ । यो अपेक्षाकृत राजनीतिमा बढिनै देखिन्छ । यदाकदा साहित्यमा पनि यसका छिटा देखिने गरेको छ । साहित्यको देश हुँदैन । कुनै उद्देश्य पूर्ण गर्नु परे देश देखा पर्छ तर त्यो ईर्ष्या रहित हुन्छ । साहित्यमा भूगोल , सिमाना र जात हुने भए हामी डेरिडा पढ्ने थिएनौ । नित्से र गोर्की खोज्ने थिएनौ । लियोटाल्सटाय र रबिन्द्रनाथ टैगोर पुज्ने थिएनौ । हाम्रै लीलबहादुर क्षेत्री र हरिभक्त नेपाली भाषीका निधि हुने थिएनन् । पारसमणि प्रधान र अम्मर गुरुङ चासोका विषय बन्ने थिएनन् । प्रताप सुब्बा र महेश थुलुङ , नारायण गोपाल र तारादेवी क्यासेटका चक्कामा सीमित हुन्थे । गोपाल योन्जन र अरुणा लामा , भक्तराज आचार्य र कुमार सुब्बा हराउँथे । यी हरेक नेपाली जातीको ढुकढुकीको धड्कन बन्ने थिएनन् । नेपथ्य बैण्डले अमेरिका हल्लाएर जाने थिएनन् । त्यस कारण भन्न सकिन्छ । कला , साहित्य र संस्कृतिलाई सिमाना र भूगोल देखाएर अलग गर्न सकिन्न । हामी नेपाली जाती आफ्नो राष्ट्रबाट निर्वासित भयौँ । कारण आ-आफ्नै होलान् । राष्ट्र सङ्गै हाम्रो राष्ट्रियता प्रतिको अवधारणा पनि हाम्रो पहुँच भन्दा बाहिर गई रहेको छ ।
अबको हामीले हाम्रो भनेर बोक्दै आएको राष्ट्रवादले अमेरिकामा हाम्रो सामान्य हक अधिकार स्थापित गर्न सक्दैन । न हामी नेपाली जातिलाई हामीले हिजो बस्तै आएको सिमानाले हाम्रो रक्षा गर्न सक्छ । तर पनि हामी सिमानाको राष्ट्रवाद बोकेर मच्चिरहेका छौ नमच्चिने पिङमा सयौँ झड्का दिएर । म भुटानबाट पुनर्वासमा आएका नेपाली जातिको बाहुल्य भएको क्षेत्रमा बस्छु । भारत र बर्माबाट आएका छिटपुट र यहाँ नेपालबाट आएका अलि बढी छन् ।
बर्मा, भारत , नेपालबाट आएकाको र भुटानबाट निर्वासित भएर आएका कैयौँ सङ्ग पुर्ख्यौली नाता छ । कतिपय नाताहरू पछाडि स्थापित भएका छन् । हाम्रो पारिवारिक सम्बन्ध छ । साथी भाइको सम्बन्ध छ । यो आत्मीयताले, प्रेमले भरिएर तिमी र तँ सम्म झरेको छ । तर पनि म यो या त्यो पक्षबाट कहिलेकाहीँ विभाजनको अमिलो गन्ध आएको अनुभूति पाउँछु । एउटै दसैँ दुई तिर मनाउने , एउटै देवकोटा दुई तिर सम्झनु पर्ने , एउटै विषयमा अलग अलग चर्चा गर्नु पर्ने । एकले अर्कालाई स्विकार्न गाह्रो हुने । सतिले सरापेको देश भन्छन् नेपाल । तर मलाई त सतिले सरापेको जाती रहेछ नेपाली भन्नुपर्छ कि भन्ने लाग्न थालेको छ । नेपालबाट टोपी च्यापेर सहजता खोज्दै अमेरिका आएको छ । यहाँ आएर हुङ्कार गर्छ , हाम्रो पूर्वेली समाज , अर्को तिर उफ्रँदै भन्छ , हाम्रो सुदूर पश्चिम समाज ! कोही भुटान , बर्मा , भारत र नेपाल अनि नेपाली जाती चैँ खै ? नेपाली भाषी चैँ खै ?
नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारका विभिन्न ठाउँमा चालीस भन्दा बढी शाखा खोलेर काम गरिरहेको छ । अहिले पेन्सिलभेनियामा पनि शाखा गठन भएको छ । यसले नेपाली जातीको साझा सवालहरूमा तटस्थ भएर काम गर्ने छ र भाषिक रूपमा , सांस्कृतिक रूपमा र साहित्यिक रूपमा एकताबद्ध भएर अगाडि बढ्नेछ भन्ने विषयमा आशा र विश्वास गर्न सकिन्छ ! कुनै दिन यो संस्थाले कसैका प्रति व्यक्तिगत तिक्तता पोख्ने काम विशेष नेतृत्वले गर्यो भने संस्था विघटन गरिदिए हुन्छ ! संस्थाका कुनै पनि व्यक्तिको कसैका प्रतिको इगोलाई जब संस्थाकै इगोको रूपमा
लिएर एकोहोरो गर्न थालिन्छ , बुझे हुन्छ संस्थाको आयु अब धेरै रहने वाला छैन । क्रियामान फाउन्डेसन ह्यारिसबर्गमा जन्मिएको सबभन्दा कान्छो संस्था हो । युवा कवि भरत तिम्सिनाको नेतृत्वमा मा यो संस्था स्थापना भएको हो । विश्व भुटानी साहित्यिक सङ्गठन , क्रियामान फाउन्डेसन र अन्य धार्मिक र सामाजिक संस्थाहरूको चर्चा क्रमशः हुने नै छ । अहिलेलाई यति नै ।
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
हाल :- अमेरिका
वास देखि पुनर्वाससम्म र हिमा कार्कीको सम्झना
October 20, 2024 @ 1:25 pm
[…] रुम नं. ६९ देखि क्रियामानसम्म ! बिसीएच मेला, सांस्कृतिक र जातीय एकताको सन्देश ! पहिचानको आधार के ? 0SHARESShareTweet […]