भैरहवामा फ्लाइ दुबई, जजिरा र एयर एशियाको उडान तयारी
काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान गर्न तयारी गरेका छन्। कुवेतको जजिरा एयरवेज, दुवईको फ्लाइ दुबई, र थाइ एयर एशियाले छिट्टै नियमित उडान सुरु गर्ने योजना बनाएका हुन्।
फ्लाइ दुबई: फलाइ दुबईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध विमानस्थलमा नियमित उडान सुरु गर्नेछ। यो एयरलाइन्सले हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान गर्ने योजना बनाएको छ। पहिलो उडान दिउँसो १:४५ बजे भैरहवा आइपुग्नेछ र ३:३० मा काठमाडौँ हुँदै दुबई फर्कनेछ। फलाइ दुबईको प्राविधिक टोलीले विमानस्थलको निरीक्षण गरिसकेको छ।
जजिरा एयरवेज: कात्तिक १२ गतेदेखि पुनः उडान सुरु गर्न लागेको जजिरा एयरवेजले यसअघि १० महिना उडान गरेको थियो तर प्राविधिक कारणले उडान स्थगित गरेको थियो। अब पुनः मङ्गलबार, बिहीबार र शनिबार उडान हुनेछ। जजिराको विमान बिहान ७:३० मा भैरहवा आएर ८:३० मा कुवेत उड्नेछ।
थाइ एयर एशिया: थाइ एयर एशियाले पनि गौतमबुद्ध विमानस्थलमा उडान गर्न तयारी गरिरहेको छ। यद्यपि, यसले कहिलेदेखि उडान सुरु गर्ने टुङ्गो लागेको छैन। विमानस्थलले एयरलाइन्सलाई बजार विश्लेषण र उडान सञ्चालनका लागि आवश्यक आधारहरूको जानकारी गराइसकेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार, फलाइ दुबईले कात्तिकदेखि दुबई–भैरहवा उडान सुरु गर्ने र अन्य एयरलाइन्सले पनि चासो देखाएका छन्।
गौतमबुद्ध विमानस्थलको पूर्णक्षमता र सेवा सुविधाको व्यवस्थापनका लागि आवश्यक अध्यागमन, भन्सार, र सुरक्षा व्यवस्थापन तयार गरिएको छ।