कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास
काठमाडौं । कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरमा नेकपा (एमाले)को केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गरिएको छ। प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त भवनको शिलान्यास गरे।
यो भवन भटभटेनी सुपरमार्केटका संचालक, चर्चित व्यवसायी मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले नयाँ भवन अत्याधुनिक र सुविधासम्पन्न हुने जानकारी गराए। उनले भवनको लागत र यसका अन्य विस्तृत पक्षहरु हाल तर्जुमाको क्रममा रहेको जनाउँदै, नयाँ भवन एमालेका लागि दीर्घकालीन सम्पत्ति बन्ने उल्लेख गरे।
हाल एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेको छ। केही महिना अघि आएको बाढीका कारण कार्यालयमा ठूलो क्षति पुगेपछि नयाँ स्थानमा कार्यालय निर्माण गर्ने निर्णय गरिएको हो। एमालेले भवनको निर्माण कार्यलाई तिव्र गतिमा सम्पन्न गरी एक वर्षभित्रै आगामी घटस्थापनाका दिन भवन हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।
पत्रकारले सोधेको प्रश्नमा व्यवसायी मीनबहादुर गुरुङले आफूले राजनीतिक दलहरुलाई समय-समयमा सहयोग गर्दै आएको उल्लेख गर्दै, एमालेसँग पुरानो निकटता रहेको र यो सहयोग गर्न पाउनु आफ्नो लागि एक गर्वको कुरा भएको बताए। उनले यस अघि पनि विभिन्न समाजसेवा तथा जनहितका कार्यमा सक्रिय रहँदै आएको र यो योगदान त्यसैको निरन्तरता भएको जनाए।
समारोहमा एमालेका अन्य शीर्ष नेताहरु, स्थानीय जनप्रतिनिधिहरु, र स्थानीय नागरिकहरुको पनि उपस्थिति थियो।