हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाइने

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई विद्युतीय व्यापारको केन्द्र बनाउने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
विश्व हुलाक दिवसको अवसरमा आफ्नो शुभकामना सन्देशमा उनले हुलाक सेवालाई आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको लागि सुदृढ र आधुनिक बनाउँदै लैजान आवश्यक रहेको बताए।
मन्त्री गुरुङले सूचना प्रविधिको प्रयोग गर्दै हुलाक सेवालाई द्रुत, प्रभावकारी र समयानुकूल बनाउँदै निजी क्षेत्रका कुरियर सेवा र ट्रान्सपोर्ट सेवासँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औंल्याए।
यस सन्दर्भमा हुलाक सेवाको संरचनागत रूपान्तरण गरी प्रत्येक स्थानीय तहमा हुलाक कार्यालयको पुनसंरचना गरिएको जानकारी दिए।
नेपाल हुलाकले विश्व हुलाक संघसँग सहकार्य गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न सदैव प्रतिबद्ध रहेको पनि मन्त्रीले बताए।
नेपालले सन् १९५६ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरी हुलाक सेवालाई विश्व मञ्चमा स्थापित गरेको थियो।