टेक्सास र क्यालिफोर्नियामा कन्सुलर कार्यालय खोल्ने निर्णय कहिले?
पेन्सिल्भेनिया । अमेरिकाको टेक्सासमा कन्सुलर कार्यालय खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ । टेक्सास राज्यमा बस्ने नेपालीहरूले ड्यालस शहरमा नेपाल सरकारको कन्सुलर कार्यलय स्थापनाको माग गरेका थिए । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भेट गरी उनीहरूले कन्सुलर कार्यलय स्थापनाको माग गर्दै ज्ञापनपत्र नै बुझाएका थिए ।
टेक्सासमा रहेका नेपाली समुदायको घनाबस्ती र समस्याबारे जानकारी गराउँदै, कन्सुलर कार्यालयको आवश्यकता स्पष्ट पारेका थिए । प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले यस मागको जायजतालाई स्वीकार गर्दै छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अमेरिकाबाट प्रधानमन्त्री फर्किए पछि परराष्ट्र मन्त्रालयमा दरबन्दी पनि थप गरिएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा १०७ जना कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको छ । जसमा राजदूत(विशिष्ट श्रेणी) १ जना, ११ जना सहसचिव, ३३ जना उपसचिव, ६३ जना शाखा अधिकृत, ५ जना कम्प्युटर इन्जिनियर, ४ जना नायव सुब्बा र १० जना सवारी चालकसहित ठूलो संख्यामा ‘लोकल स्टाफ’ पनि समावेश छन् । त्यसमध्ये ३६ जना विदेशस्थित नेपाली नियोगहरूका लागि मात्रै थपिएका छन् ।
यसअघि विशिष्ट श्रेणीदेखि काउन्सेलरसम्म गरेर दुई सय दुई जना रहेकोमा थपेर दुई सय ३८ जना पुर्याइएको छ । ११ जना सहसचिवमध्ये ६ जना विदेशस्थित नेपाली नियोगका लागि रहेका छन् । थप दरबन्दी अनुसार नेपाली राजदूतावास पोर्चुगलमा एक जना राजपत्राङ्कित विशिष्ट श्रेणीको राजदूत थप गरिएको छ भने जेनेभा र महावाणिज्य दूतावास जेद्या र न्युयोर्कमा(सहसचिव परराष्ट्र सेवा) एक/एक थप गर्ने र नयाँ स्थापना हुने महावाणिज्यदूतावास लस एन्जलस, टेक्सास र दुबई मा एक/एक जना सहसचिव परराष्ट्र सेवामा थप गरिएको छ ।
दरबन्दी थप भएको विषय सार्वजनिक भएसँगै प्रवासमा बस्ने नेपालीहरुले कन्सुलर सेवा स्थापना भइसकको रुपमा अर्थ लगाउँदै अहिले सामाजिक सञ्जालमा स्टाटस लेख्न थालेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतले समाजटाइम्सलाई दिएको जानकारी अनुसार औपचारिक रुपमा कन्सुलर कार्यालय खोल्ने निर्णय भएको छैन । तर, प्रधानमन्त्रीले अमेरिका भ्रमणमा गरेको प्रतिवद्धता पालना गर्ने बताउँदै दसैं पछि मात्रै औपचारिक निर्णय हुने उक्त स्रोतले जानकारी दियो । उनी भन्छन् ‘ अमेरिकाको टेक्सासमा कन्सुलर खोल्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय भएर आएको छैन ।
त्यहाँबाट नआउँदासम्म हामीले कन्फर्म गर्न मिलेन । प्रधानमन्त्रीले अमेरिका भ्रमणका क्रममा खोल्ने प्रतिवद्धता जनाउनु भएको थियो । अब बिस्तृत लागत प्रतिवेदन आउनु पर्ने हुन्छ । सैद्धान्तिक स्वीकृति भने भइसकको छा । परराष्ट्रको जनशक्ति थप भइसकेको छ । यसले पनि नयाँ खोल्नका लागि आधार तय भने गरेको छ । अब दसैं पछि बस्ने बैठकले निर्णय गर्न सक्छ ।’