फ्लोरिडाका बासिन्दालाई हरिकेन मिल्टनबाट जोगिन आग्रह
पेन्सिल्भेनिया । फ्लोरिडाका बासिन्दाहरू आपतकालीन तयारी पुरा गर्न र धेरैले राज्य छोड्न हतारिरहेका छन्, किनकि हरिकेन मिल्टनले ठूलो जनसंख्या भएको टाम्पा बेतर्फ तीव्र गतिमा प्रवेश गर्दैछ।
मिल्टन अहिले पाँचौँ श्रेणीको आँधी बनेको छ, जसको वेग १६५ माइल प्रति घण्टा (२७० किलोमिटर प्रति घण्टा) रहेको छ। यो आँधी बुधबार राति पूर्ण शक्तिका साथ जमिनमा ठोक्किने अनुमान गरिएको छ, जसले करिब दुई हप्ताअघि विनाशकारी हरिकेन हेलिनले पारेको प्रभावलाई थप गम्भीर बनाउनेछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार फ्लोरिडाका बासिन्दाहरूलाई आफ्नो घर खाली गर्न आग्रह गर्दै यो जीवन र मृत्युसँग सम्बन्धित मुद्दा भएको बताएका छन्। फ्लोरिडाले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उद्धार प्रयास सुरु गरेको छ।
“श्रेणी पाँचको आँधी भनेको तपाईंसँग ठोक्किन लागेको विशाल टर्नेडो जस्तै हो,” ब्रेडेन्टन शहरका एक बासिन्दाले बीबीसीसँग भनेका छन्, जसले आफ्नो परिवारलाई लिएर किसिम्मीमा रहेका छन्।
उनले भने, “यो आँधी जहाँ आए पनि जीवन परिवर्तन गर्ने घटना हुनेछ।” उनले आफ्नो आठ वर्षकी छोरीको सुरक्षाका लागि यस पटक पहिलो पटक आफ्नो शहर छोडेर सुरक्षित ठाउँमा जान निर्णय गरेका छन्।
अर्का बासिन्दा एमएल फर्ग्युसन, जसको घर गत महिना हेलिनले ध्वस्त बनाएको थियो, यस पटकको मिल्टन आँधीलाई हेलिनभन्दा निकै शक्तिशाली भन्दै यस आँधीपछि आफू बेघर हुने बताउँछिन्।
फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले दर्जनौं उद्धार केन्द्रहरू तयार गरेको र पेट्रोल वितरणको व्यवस्था मिलाएको बताएका छन्। राज्यका विभिन्न स्थानहरूमा लामो लाइन बनेको र पेट्रोल सकिन थालेको रिपोर्ट पनि आएको छ।
राष्ट्रपति बाइडेनले यो आँधी फ्लोरिडाको शताब्दीको सबैभन्दा ठूलो आँधी हुनसक्ने चेतावनी दिएका छन्। उनले भने, “तुरुन्तै घर खाली गर्नुस्, यो जीवनरक्षाको सवाल हो।”
कम्तीमा ५१ वटा काउन्टीमा आपतकालीन चेतावनी जारी गरिएको छ। आँधीका कारण कक्षा र हवाई उडानहरू रोकिएको छ भने ट्याम्पा र अरु धेरै स्थानमा मानिसहरू सुरक्षित स्थानतर्फ गइरहेका छन्।
फ्लोरिडालाई यस आँधीको प्रभावबाट बचाउनको लागि बाइडेनले अन्य राज्यहरूमा पनि उद्धार टोली पठाएका छन् र १४० मिलियन डलरभन्दा बढीको संघीय सहायता स्वीकृत गरेका छन्।