महिला साफ कार्तिक १ देखि काठमाडौंमा हुँदै
काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिपको तयारी नेपालमा पूरा भएको छ।
आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने यस प्रतियोगितामा नेपालसहित सात राष्ट्रहरू: माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भूटान र बङ्गलादेशको सहभागिता हुनेछ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार, नेपाली राष्ट्रिय महिला टोलीले मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षण गरिरहेको छ। २७ जना खेलाडी प्रशिक्षणमा समावेश छन्।
प्रशिक्षणका लागि एन्फा कम्प्लेक्स, नेपाली सेना भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको मैदान प्रयोगमा ल्याइएको छ।
प्रतियोगिताको सफलताका लागि अनुमानित बजेट चार करोड ६० लाख रुपैयाँ छ, र तयारी सम्पूर्ण रूपमा सम्पन्न भएको एन्फाले जनाएको छ।