प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ।
काठमाडौँको सिंहदरबारमा आयोजित एक कार्यक्रममा देउवाले ३४ बुँदे सुझावपत्रसहित चेक हस्तान्तरण गरे।
देउवाले हालैको प्राकृतिक विपद्पछि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे सुझाव दिएका थिए।
प्रधानमन्त्री ओलीले कांग्रेसले दिएको सुझाव मननीय रहेको बताउँदै, विपदले जात, धर्म, उमेर नभनी सबैलाई प्रभावित पार्ने भएकाले सबै पक्ष एकताबद्ध भएर सामना गर्नुपर्ने बताए। साथै, यस कार्यमा सरकारले अगुवाइ गर्ने कुरा पनि उनले उल्लेख गरे।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरूको उपस्थिति थियो।
कांग्रेसले सरकारलाई विपद्को सामना गर्न र भविष्यका सम्भावित विपद्हरूसँग जुध्न एकता र तयारीमा लाग्न आग्रह गरेको छ।