पूर्व राष्ट्रपति बराक ओबामाले स्विंग राज्यहरूमा भ्रमण गर्दै
पेन्सिल्भेनिया। अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा आगामी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसको अभियानलाई सघाउन प्रमुख स्विंग राज्यहरूमा भ्रमण गर्न तयारीमा छन्। यस अभियानको सुरुवात आगामी बिहीबार पिट्सबर्गबाट हुनेछ।
ह्यारिसको चुनावी अभियानले घोषणा गरेअनुसार, ओबामा २७ दिनको अवधिमा देशभर घुम्दै ह्यारिसलाई समर्थन गर्नेछन्। ह्यारिस र ओबामाको मित्रता लगभग २० वर्ष पुरानो हो। जसको शुरुवात ओबामा सिनेटको उम्मेदवारको रूपमा चुनाव लड्दै गर्दा भएको थियो।
बराक ओबामा र अन्य प्रमुख डेमोक्र्याट नेताहरूले हालै राष्ट्रपति जो बाइडेनलाई २०२४ को राष्ट्रपति दौडबाट बाहिरिन आग्रह गरेकोमा भूमिका खेलेका थिए। ओबामाको उपस्थितिले बाइडेनको तुलनामा ह्यारिसको अभियानलाई ताजगी दिनेछ, किनकि बाइडेनले चुनावी मैदानमा कम उपस्थिति जनाएका छन्।
ओबामाले अगस्टमा भएको डेमोक्र्याटिक सम्मेलनमा आफ्नो भाषणमा भनेका थिए, “कमला ह्यारिस सुविधा सम्पन्न परिवारमा जन्मिएकी होइनन्। उनले जे हासिल गरेकी छिन्, त्यसका लागि संघर्ष गर्नुपरेको छ।” ओबामाको साथले ह्यारिसको चुनावी अभियानलाई नयाँ ऊर्जा दिने विश्वास गरिएको छ।