विमान कम्पनीहरूले आगामी तीन दिन अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने
काठमाडौँ। विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेका छन्।
विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै भएको तीव्र आलोचनापछि वायुसेवा सञ्चालक सङ्घको बैठकले यो निर्णय गरेको हो।
सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार, र बुधबार यात्रुहरूलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने जानकारी दिए।
उनले सरकारसँग इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङजस्ता सेवाहरूमा छुट दिन आग्रह गरिएको पनि बताए। यस्तो छुटले हवाई भाडा अझै घटाएर यात्रुहरूलाई सहुलियत दिन सकिने उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा हवाई भाडा सहुलियत दरमा वा पहिलेकै मूल्यमा राख्न विमान कम्पनीहरूलाई अनुरोध गरेका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमान कम्पनीहरूलाई विपत्तिको समयमा बढी भाडा नलिन आग्रह गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, “कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई ध्यानमा राखेर सस्तो दरमा हवाई भाडा उपलब्ध गराउन अनुरोध गरेका छौँ।”
हाल सडक अवरुद्ध भएकोले हवाई यात्रुको चाप बढेको कारणले हवाई भाडा बढेको हुनसक्ने प्राधिकरणले बताएको छ। “एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, न्यूनतम र अधिकतम भाडादर तोकेर प्राधिकरणले नियमन गर्ने गरेको छ,” अधिकारी भुलले बताए।
वर्तमानमा, बाढी र पहिरोका कारण काठमाडौँतर्फका मुख्य सडकमार्गहरू अवरुद्ध हुँदा यातायातको एकमात्र विकल्प हवाई सेवा बनेको छ।
जसले गर्दा अस्वभाविक रुपमा भाडा बढाइएको जनस्तरबाट आलोचना भएको हो।