राजमार्ग खुलेपछि १७०० भन्दा बढी सवारी साधन काठमाडौं भित्रिए
काठमाडौं। धादिङको झ्याप्ले क्षेत्रमा अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेपछि १७०० भन्दा बढी सवारी साधन काठमाण्डौं उपत्यकामा भित्रिएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि अवरुद्ध सडक खुल्ने क्रम सुरु भएसँगै अलपत्र परेका यात्रुहरु काठमाण्डौं फर्केको जानकारी दिए।
अवरोधका कारण झ्याप्लेमा फसेका यात्रुहरू सवारीसाधनसहित काठमाण्डौं भित्रिएका हुन्। गृहमन्त्रालयका अनुसार, आइतबार साँझदेखि सडक खुल्न थालेपछि यातायात व्यवस्था पुनः सुचारु भएको हो। यात्रुहरुसहित सवारी साधन सुरक्षित रूपमा गन्तव्यमा पुगेको छ।
सोमबार दिउँसोपछि काठमाण्डौं उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिर पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले बताए। गृह मन्त्रालयले मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि विभिन्न निकायहरूसँग समन्वय गर्दै आवश्यक कदम चालिरहेको छ।
सोमबार दिउँसो गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको थियो। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढी, पहिरो, डुबान लगायतका विपद्का विषयमा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने प्रक्रियाबारे जानकारी गराएका छन्।
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा फसेका सबै यात्रुहरूको उद्दार कार्य पनि निरन्तर भइरहेको छ। प्रवक्ता तिवारीका अनुसार नेपाली सेना र अन्य सुरक्षा निकायको टोलीले हवाइ उद्दार र डोरीको सहायताले यात्रुहरुलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन्।
यात्रा गर्दा सावधानी अपनाउन आग्रह गर्दै तिवारीले मौसम अझै पूर्ण रूपमा सामान्य नभएकाले जोखिमपूर्ण क्षेत्रहरूमा सतर्क रहनुपर्ने बताए। पहिरो लगायतका अन्य प्राकृतिक विपद्का जोखिम अझै कायम रहेको भन्दै यात्रुहरुलाई सचेत रहन सुझाव दिदएका छन्।
रोशी लगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै राहत वितरणको काम पनि भइरहेको छ। घाइते यात्रुहरूको उद्दार गरी विभिन्न अस्पतालमा निःशुल्क उपचार गराइँदैछ।
सरकारले विभिन्न निकायसँग समन्वय गर्दै अवरुद्ध सडक सुचारु गर्न, प्रभावित क्षेत्रमा उद्धार, राहत र स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर सक्रियता देखाइरहेको छ।