बेपत्ताको खोजी, विस्थापितहरुको पुन: स्थापना गर्न सरकारलाई प्रचण्डको ध्यानाकर्षण
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरोबाट बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनःस्थापना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वाअनुमान भए तापनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेको प्रति दुःख व्यक्त गरेका छन्।
प्रचण्डले भनेका छन्, “केही दिनयताको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विपद्मा झण्डै एक सय भन्दा बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन्। हजारौं नागरिक घरबारविहीन भएका छन्। बाढी र पहिरोले व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
प्रचण्डले बेपत्ताको खोजी, घाइतेको उपचार, र विस्थापितको पुनःस्थापनालाई सरकारको पहिलो कर्तव्यको रूपमा परिभाषित गर्दै तत्काल पहल गर्न आग्रह गरे। उनले थपे, “भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि क्षति न्यूनीकरणका लागि सरकारको उदासीनता गम्भीर विषय हो। राजधानीमा उद्धारका लागि लामो समय पर्खिनुपर्ने अवस्था देख्नुपर्दा यो सरकारको उदासीनता पुष्टि गर्दछ।”
यसका साथै, उनले विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त रहेकोले दशैं र तिहारको पर्व नजिकिँदै गर्दा युद्धस्तरमा पुनर्निर्माणका काम थाल्न आग्रह गरे।
प्रचण्डले भनें, “हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता कार्यकर्ता उद्धार र पुनःस्थापनामा लागिरहनुभएको छ। उनीहरुलाई धन्यवाद दिंदै बेपत्ता नागरिकको खोजी, विस्थापितहरुको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु।”