टेक्सस बेडफोड सिटीका मेयरसँग नेपाली समुदायको भेट
टेक्सस, अमेरिका/ टेक्ससको बेडफोड सिटीका मेयर ड्यान कोगन र नेपाली समुदायका अगुवा बिचमा भेट भएको छ।
सामाजिक अभियन्ता प्रभात दीक्षितको अगुवाइमा बिहीबार सिटी मेयर कोगन र नेपाली समुदाय बिचमा भेट भएको हो।
नेपाली समुदायको तर्फबाट गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, कोषाध्यक्ष सरोज सिग्देल रहेका थिए। यस्तै टोलीमा नेपाली समाज टेक्ससका उपाध्यक्ष बलराम पौडेल, नेपाली अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष सुरज पौडेल, एनआरएनए अमेरिका टेक्सस च्याप्टरका महिला संयोजक अनु तामाङ, ब्लड डोनर्स अफ अमेरिकाका शिव काफ्ले लगायतका सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।
एनआरएनए अमेरिकाका कोषाध्यक्ष सिग्देलका अनुसार भेटमा लगानीका अवसर,कला संस्कृति र मूलधारमा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
त्यसका साथै बेडफोड सिटीले गर्दै आएको फागु पूर्णिमा अर्थात् होली कार्यक्रममा नेपाली समुदायसँग मिलेर कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो।
सिटी मेयरले नेपाली समुदाय सँग मिलेर काम गर्न तयार रहेको जनाएका थिए। उनले नेपाली समुदायसँग सहमति र सहकार्य गर्दै सिटीका विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनको लागि अनुरोध गरे।
टेक्ससमा नेपाली समुदाय निरन्तर रूपमा बढ्दै गइरहेको छ। नेपाली समुदायको संख्या वृद्धिसँगै टेक्ससमा रहेका विभिन्न सिटीहरूले नेपाली समुदायलाई आफ्ना सिटीका कार्यक्रमहरूमा सहभागी गराउँदै मूलधारको राजनीतिमा आउन समेत सहयोग पुर्याउने गरेका छन्।