एनआरएनएको आधिकारिकता विवादको नयाँ पेसी १४ गते
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकता विवादका सन्दर्भमा आरके शर्मासहितको समूहले दायर गरेको रिटको नयाँ पेसी असोज १४ गतेका लागि तोकिएको छ। इजलास अधिकृत देवी बहादुर प्रधानका अनुसार, यसअघि असोज ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा मुद्दा हेर्न नभ्याइने भएको थियो।
भदौ २६ गते शर्मासहितका व्यक्तिहरूले परराष्ट्र मन्त्रालय, एनआरएनएको कार्यालय, पूर्वअध्यक्ष शेष घले र पूर्व सहकोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना विरुद्ध मुद्दा दायर गरेका थिए। भदौ ३० गते न्यायाधीश बालकृष्ण ढकालको इजलासले दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो।
शर्माको रिटमा भनिएको छ कि बद्री केसीले अदालतलाई गुमराहमा राख्दै आफूलाई अध्यक्ष बनाएको र ११ औँ महाधिवेशनबाट विधिवत् निर्वाचित भएको भन्दै आधिकारिकता दिनु पर्ने माग गरिएको छ। रिटमा, “प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाइ एनआरएनएको विवादको स्थायी समाधानका लागि हामी निवेदकहरूलाई काम गर्न दिनु,” भनी माग गरिएको छ।
गत अक्टोबरमा होटल सोल्टीमा भएको निर्वाचनमा बद्री केसी अध्यक्ष पदमा निर्वाचित भए, तर शर्मा र महेश श्रेष्ठले धाँधलीको आरोप लगाउँदै निर्वाचन परिणाम अस्वीकार गरेका थिए। विवाद चर्किँदै जाँदा, सर्वोच्च अदालतले चैत २१ मा १० औँ र ११ औँ महाधिवेशनलाई अवैध ठहर गरेको थियो।