जलवायु परिवर्तन र स्वास्थ्य सेवामा विभेद भयो : प्रधानमन्त्री ओली
न्यु योर्क ।प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा जलवायु परिवर्तन र स्वास्थ्य सेवामा रहेका विभेदबारे गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री ओलीले रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्दै भने, “नेपालका हिमालहरू कार्बन उत्सर्जनका कारण पग्लिरहेका छन्। एसियाका दुई तिहाइ हिमाल पग्लिनु र १० वटा नदी प्रणाली सुख्खा हुनुले स्पष्ट गर्दछ कि एकीकृत जलवायु अनुकूलन कार्ययोजना आवश्यक छ।”
उनले हिमालयलाई प्राकृतिक ‘रिचार्ज सिस्टम’को रूपमा व्याख्या गर्दै हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा साझा प्रयास गर्न अपिल गरे। “उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ,” उनले जोड दिए।
प्रधानमन्त्री ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने पनि उल्लेख गरे। उनले भने, “धनी र गरिब मुलुकका बीच स्वास्थ्य सेवामा असमानता रहेको छ। आर्थिक कठिनाइका कारण गरिब मुलुकका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन कठिनाइ भइरहेको छ।”
नेपालले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले काम गरिरहेको बताएका उनले, “निरोगी नेपालको अभियानलाई अघि बढाउने हाम्रो लक्ष्य हो।” प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको अपेक्षा गर्दै भने, “गुणस्तरीय र सहज जीवनयापनका लागि स्वस्थ्य रहन अनिवार्य छ। स्वास्थ्य सेवाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक छ।”
महासभामा सहभागी भई उनले जलवायु परिवर्तन र स्वास्थ्य सेवामा देखिएका चुनौतीहरूको समाधानका लागि ठोस कदम चाल्न सबै देशलाई आह्वान पनि गरेका छन्।