वामपन्थी नेता दिसानायकाले श्रीलङ्कामा राष्ट्रपतिको काम थाले
काठमाडौं। पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो। शनिबार सम्पन्न निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२.३१ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन्।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२.७६ प्रतिशत मतसहित दोस्रो स्थानमा रहेका थिए । पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घे, जसले २०२२ को आर्थिक सङ्कटको समयमा कठोर मितव्ययिता नीतिहरू लागू गरे पनि उनी १७.२७ प्रतिशत मतसहित तेस्रो स्थानमा रहे।
सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीले आम नागरिकलाई कष्ट भोग्न बाध्य बनाएको थियो, जसका कारण दिसानायकाको समर्थनमा वृद्धि भएको थियो।
दिसानायकाले प्रधान न्यायाधीशको समक्ष शपथ ग्रहण गर्दै जनताको विश्वासलाई पुनस्र्थापित गर्न प्रतिबद्धता व्यक्त गरे। उनले भने, “म जादुगर होइन, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। यसको लागि मलाई सबैको सहयोग आवश्यक छ।”
प्रधानमन्त्रीद्वारा राजिनामा
श्रीलङ्काको नयाँ राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् कि दिसानायके निर्वाचनले नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गरेको उल्लेख गरेका छन्।
गुणवर्धनाले दिसानायकालाई चुनावमा विजय हासिल गरेपछि आइतबार राति बधाई पनि दिएका थिए।