अमेरिकी राजदूतद्वारा भक्तपुरमा पुस्तकालय उद्घाटन
भक्तपुर। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आज भक्तपुरको नागांचा स्थित नेपाल भोकेसनल एकेडेमीमा नयाँ पुस्तकालयको उद्घाटन गरेका छन् ।
पुस्तकालयमा करिब ५० वर्ष नेपालमा रहेर यहाँका कला, संस्कृति, सम्पदा, र विभिन्न पक्षहरूको अध्ययन गरेका प्राध्यापक स्वर्गीय थियोडोर टेड रिकार्डीले सङ्कलन गरेका पाँच हजार पुस्तकहरू समेटिएका छन्।
उक्त पुस्तकालयमा अमेरिका र अन्य क्षेत्रबाट नेपाली अध्ययन, एशियाली सन्दर्भ, वास्तुकला, र सम्पदासम्बन्धी अनुसन्धानमूलक पुस्तकहरू राखिएका छन्, जसमा अमेरिकी दूतावासले पनि सहयोग गरेको छ।
उद्घाटन समारोहमा राजदूत थम्पसनले अमेरिका र नेपालको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई पुस्तकालयले अझ मजबुत बनाएको बताए। “यो पुस्तकालय नेपालका नयाँ पुस्ताका लागि महत्वपूर्ण जानकारी र इतिहास बुझ्न ठूलो योगदान दिनेछ,” उनले भने।
कार्यक्रममा स्व. रिकार्डीकी श्रीमती कुनले प्राध्यापक रिकार्डीको नेपालप्रतिको गहिरो अध्ययन र सेवाको बारेमा चर्चा गर्दै यो पुस्तकालय स्थापना नेपालका लागि आफ्नो योगदान भएको बताइन्।
यस अवसरमा प्रा. डा. निर्मलमान तुलाधरले प्रा. रिकार्डीले नेपालका धर्म, संस्कृति, र नेवारी परम्परासम्बन्धी अनुसन्धानमा पु¥याएको योगदानको प्रशंसा गरे।
आरपी फाउन्डेसनका प्रमुख रविन्द्र पुरीले टेडको नाममा पुस्तकालयमा ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रुम’ स्थापना गर्नु गर्वको विषय भएको बताए।
यस पुस्तकालयमा टेडको योगदानको सम्मानस्वरूप उहाँको अर्धकदको सालिक पनि राखिएको छ।