दशौं राष्ट्रिय खेलकुद मंसिरमै गर्छौं : मन्त्री चौधरी
काठमाडौं । कर्णालीमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न हुने खेलकुदमन्त्री तेजुलाल चौधरीले बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो प्रतियोगिता आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा हुने जानकारी दिए।
मन्त्री चौधरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा निर्माणाधीन १० हजार दर्शक क्षमताको रङ्गशालाको काम अन्तिम चरणमा रहेको र दशैंअघि नै भौतिक संरचना निर्माण पूरा हुने बताए। यो प्रतियोगिता कर्णाली प्रदेशको लागि ऐतिहासिक हुनेछ, किनभने पहिलोपल्ट कर्णालीले आफ्नै लगानीमा खेलकुद प्रतियोगिता आयोजना गर्दैछ। संघीय सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको जानकारी पनि उनले दिए।
प्रतियोगितामा ३६ खेल समावेश गरिएका छन्, जसमध्ये २२ देखि २४ खेल सुर्खेतमा हुनेछ, भने बाँकी खेल नेपालगञ्ज र काठमाडौंमा हुनेछ। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा ११औं राष्ट्रिय खेलकुदको घोषणा गरिनेछ, जुन मधेश प्रदेशमा आयोजना हुनेछ।
नेपालले अमेरिकामा क्रिकेट खेल्ने मिति र ठाउँ सार्वजनिक
तर, मन्त्री चौधरीले खेलकुद क्षेत्रमा सरकारले अत्यन्त कम बजेट विनियोजन गरेको उल्लेख गर्दै सोचेअनुसारका कामहरू गर्न नसकेको बताए। संघीय सरकारका २१ मन्त्रालयमध्ये खेलकुद मन्त्रालयको बजेट सबैभन्दा कम रहेको पनि उनले जनाए।
साथै, उनले मुलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर (विस्तृत परियोजना रिपोर्ट) तयार भइसकेको र राष्ट्रिय योजना आयोगमा यो हप्ता बहुवर्षीय योजनाका लागि प्रस्ताव पेश गरिने जानकारी पनि दिए।
कीर्तिपुर रङ्गशालालाई ३ सय दिनभित्र सुविधासम्पन्न बनाउने सरकारको निर्णयअनुसार २० करोड रुपैयाँ छुट्याइएको र यो परियोजना सहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको पनि मन्त्री चौधरीले जानकारी दिए।