सकारात्मक बनौँ
बिष्णु बराल
बाल्टिमोर,मेरिल्यान्ड/ दिनहरू यसै बितेका छन्। शुभ बिहानी त कस्तो हुन्छ थाहा नै छैन यो परदेशको ठाउँमा । राति नौ बजे सम्मको काम अनि फेसबुके संसार कति छिट्टै बिहानको १ बजेको हुन्छ।
आठ घण्टा सुतौँ जस्तो लाग्छ त्यसैले बिहान ८ बजे उठ्यो चिया पिउँदा १० बज्ने अनि दिउसो १ बजे देखि काममा जानु छ । हो त नि आठ घण्टा काम गर्नु नै छ। तपाईँलाई पनि यस्तै लाग्दै त छैन ? समय तालिकामा फरक होला तर व्यथा एउटै हो भन्नुभएको भनेर मैले बुझे ।
के गलत त बुझिन नि ? यदि त्यत्तिकै समय गुजार्दै हुनुहुन्छ भने तपाईँलाई बाध्यता वा समस्या परेको हुनसक्छ अन्यथा विकसित मुलुकमा सम्भव छैन।
हातमुख जोड्नको लागी यति त गर्नु नै पर्छ । यसरी हेर्दा त रमाइलै लाग्छ जाबो पाँच दिन आठ आठ घण्टा काम गर्यो हप्तामा दुई दिन बिदा फेरी सरकारी बिदाहरू आफूले पाउने बिदाहरू गर्दा त वर्षमा १४० दिन त बिदा नै हुनेछ तै पनि किन उकुस मुकुस हुन्छ, विदेशमा।
मनमा यस्तै प्रकारका तरङ्गले अनुत्तरित भइरहेको अवस्थामा अचानक फोनमा घण्टी बच्छ र कसैले सुनाउँछ तिम्रो बाल्यकालको साथी…… ।
उ अलि बढी क्रियाशील थियो । सबै आफ्नो बनाउन पाए हुन्थ्यो भन्न सम्म पछि पर्दैनथ्यो । सोचनीय कुरा उसले हिजो सम्म पनि धनाढ्य बन्नका लागि के गरेको थिएन ?
तँछाडमछाड, हस्याङफस्याङ आदि आदि । तर यो सब मृगतृष्णा थियो उसको। हेर्नुहोस् त सडकमा गाडी कुदाउँदा एउटालाई उछिन्यो तपाईँको अगाडी अर्को आई पुग्छ त्यसलाई उछिन्यो फेरी अर्को अगाडी त भइरहन्छ । यो होडबाजी कहिल्यै सिद्धिन्न ।
तँछाडमछाड, होडबाजी सब कृत्रिम कुराहरू हुन ।
म आज…. खै के भनूँ ।
उ सँग बाँचुन्जेल गाँसिएका ममताका त्यान्द्राहरू एकाएक चुडीएका छन्, मुटु बेस्सरी गाँठो परेको छ। कस्तो मानव जीवन पट्यार लाग्दो उफ् । अब मन बुझाउनु बाहेक हामीसँग अरू केही छैन।
मृत्यु ।
यो ध्रुव सत्य हो। को अघि को पछि को मात्र फरक हो। त्यसैले हामी जो कोहीलाई पर्ने यस्ता अकल्पनीय समयलाई घटनाक्रमको रुपमालिएर खुल्ला बिचारले अर्को तर्फ सोच्नै पर्छ, जहाँ हेर्नुहोस् त कस्तो राम्रो पार्क ढकमक्क रङ्गचङ्गि फूलहरू फुलेका बिचमा छहरा र झरना बाट पानीको छङ्ग छङ्ग आवाज सुनिरहेको छ।
यस्तो मनमोहक दृश्य झ्याउँकिरीको गीतले लोभ्याई रहेको अवस्था यदि स्वर्ग भन्ने हुन्छ भने यस्तै हुन्छ होला । यही जीवनमा पाइने यस्ता सबै अनुभव किन नलिने ?त्यसैले जीवन रहुन्जेल सकारात्मक बनौँ, सचेत बनौँ, समयको सदुपयोग गरौँ।
(लेखक बिष्णु बराल, गैर आवासीय नेपाली संघ, (एनआरएनए) अमेरिकाका बोर्ड सदस्य तथा ‘न्युज लेटर’ प्रकाशन विभागका प्रमुख हुन् )