‘राज्यको भूगोल हुनसक्छ तर राष्ट्रको भूगोल हुँदैन’
नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको उपलक्ष्यमा आयोजित यस समारोहमा उपस्थित हुनुभएका अमेरिकी सरकारका विशिष्ट अतिथिहरु, नेपालका लागि अमेरिकाका पूर्व राजदूतहरु, पिस कोर स्वयमसेवकहरु लगायत नेपालका अमेरिकी मित्रहरु र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा राजदूतावासको तर्फबाट म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।
आजको यस महत्वपूर्ण एवं ऐतिहासिक दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलन तथा संघर्षको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
संविधानवादको आधारभूत सिद्वान्तहरुलाई अँगालेको वर्तमान संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ। मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धिको मार्गतर्फ अघि बढाउन यो संविधानले मार्ग प्रशस्त गरेको छ। तीन वटै तहका जननिर्वाचित सरकारहरुले देशको शासन व्यवस्थालाई जनमूखी बनाई आर्थिक विकास र जनताको जीवनस्तरमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिने परिवर्तनका लागि प्रयास गरिरहेका छन्। नियमित र शान्तिपूर्ण आवधिक निर्वाचन, शान्तिपूर्ण सत्ता हस्तान्तरण, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको अभ्यासले नेपाली लोकतन्त्र आज दक्षिण एशिया क्षेत्रमै उदाहरणीय रुपमा रहेको छ।
नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध
नेपालको संविधान र लोकतन्त्रबारे उल्लेख गर्दा लोकतन्त्रको उदाहरणीय मुलुक अमेरिकासँगको नेपालको संबन्धबारे प्रकाश पार्नु पनि सान्दर्भि हुन आउँछ। नेपाल-अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना हुँदा नेपालको दौत्य सम्बन्ध स्थापना भएका मुलुकहरुमध्ये अमेरिका दोस्रो राष्ट्र थियो। दौत्य सम्बन्ध स्थापनायता दुई देशबीचको
राजनैतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध थप विस्तार हुँदै गएको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारप्रतिको सम्मान दुई मुलुकलाई जोड्ने सम्बन्धका कडिका रुपमा रहेका छन् ।
नेपाल – अमेरिका विकास साझेदारी हामीबीचको सम्बन्धको अर्को महत्वपूर्ण पाटो हो। चार बुँदे सहयोग कार्यक्रममार्फत् सन् १९५० देखि नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर सहयोग पुऱ्याउँदै आएको अमेरिकाले पछिल्लो समयमा ५०० मिलियन डलरको MCC परियोजनामा सहायता उपलब्ध गराएको छ । यसैगरी USAID मार्फत् गर्ने सहयोग समेत विस्तार गरेको छ। भूकम्पपश्चात् को पुननिर्माण तथा कोभिडसँगको लडाईंमा अमेरिकी सरकार र जनताले गरेको सहयोग नेपाली जनताले सदैव स्मरण गर्नेछन् ।
संयुक्त राज्य अमेरिकामा नेपाली समुदाय ४-५ लाखको हाराहारीमा रहेको हुनसक्ने राजदूतावासको अनुमान रहेको छ। यसैगरी हेरक वर्ष १ लाख भन्दा बढि अमेरिकी पर्यटकहरु ट्रेकिङ, पर्वतारोहण र मनोरञ्जनका लागि नेपाल भ्रमणमा जाने गरेको तथ्याङ्कले देखाउँदछ । यो तथ्याङ्कले नेपाल र अमेरिकाबीचको जनस्तरको सम्बन्ध झनै घनीभूत हुँदै गएको देखाउँदछ ।
गैर-आवासीय नेपाली-नेपालको अमूल्य सम्पत्ति
जनस्तरको सम्बन्ध विस्तारमा अमेरिकामा रहेका नेपालीहरुको ज्यादैनै महत्वपूर्ण योगदान छ । नेपाल सरकारले जहिले पनि नेपाल बाहिर रहेका नेपालीहरुलाई नेपालको विदेशमा रहेको सबैभन्दा ठूलो सम्पत्तिको रुपमा लिने गरेको छ। यस अर्थमा संयुक्त राज्य अमेरिकामा रहनुभएका ४ देखि ५ लाख नेपाली समुदाय लाई नेपाल सरकारले नेपालको हित रक्षा र छवी प्रवर्धनमा महत्वपूर्ण साझेदारको रुपमा लिएको छ। राज्यको भूगोल हुनसक्छ। तर राष्ट्रको भूगोल हुँदैन। राष्ट्र भनेको भावना हो। सात समुद्र पारी रहेतापनि नेपाली कला-संस्कृति, रीतिरिवाज र संस्कारले हामीलाई सदैव जोडिराखेको हुन्छ। त्यो नै नेपाली राष्ट्र हो, नेपालीपन हो। यहाँहरुलाई एउटा रोमन कविको भनाई स्मरण गराउन चाहन्छु । “Absence makes the heart grow fonder” अर्थात् जो जति टाढा रहन्छ उसैको मायामोह बढी हुन्छ । नेपाल छोडेर विदेशिंदैमा नेपालसँगको नाता कमजोर हुन्छ भन्ने कदापि नसोच्नु होला।
नेपाल बाहिर रहेका नेपालीहरलाई नेपालसँग जोड्न संविधानले नै गैर-आवासीय नेपाली नागरिकता दिने गरी व्यवस्था गरेको छ। यहाँहरुलाई विदितै छ नेपाल सरकारले केही समयअघि देखिनै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट गैर-आवासीय नेपाली नागरिकता दिन शुरु गरिसकेको छ । आगामी दिनमा नागरिकता प्राप्तिको प्रकृयालाई थप सरल र सहज बनाउन प्रयास भैरहेको जानकारी गराउन चाहन्छु। गैर आवासीय नेपाली नागरिकको हैसियतमा प्राप्त हुनुपर्ने हक अधिकार र सुविधाहरु हाल पूर्णरुपमा प्राप्त भइसकेको अवस्था छैन । दूतावासमा यस सम्बन्धी धेरै गुनासाहरु आउने गरेकाछन्। हाल विभिन्न अन्तर्सम्बन्धित कानूनहरु संशोधन भई नसकेको कारणले भिषा, जग्गा खरिद जस्ता हक अधिकार र सुविधाहरु गैरआवासीय नेपालीहरुले प्राप्त गरिसक्नुभएको छैन। आगामी दिनहरुमा सरकारले सम्बन्धित कानूनहरु र नियमावलीहरु निर्माण र संशोधन गरी त्यस्ता हकअधिकारहरुको भोगचलन गर्न पाउने वातावरण निर्माणमा जोड दिनेछ।
अमेरिकी राज्यव्यवस्थाको अवधारणा जसलाई अमेरिकीहरु American Experiment भन्छन त्यो मानव इतिहासमा वास्तवमै एउटा ठूलो राजनैतिक प्रयोग हो र यो विभिन्न विचार र मूल्यहरुको संगम हो। यस प्रयोगले गर्दा संसारभरिका मानिसहरुले अमेरिकालाई आफ्नो थातथलो बनाई Salad Bowl को सिद्धान्त बमोजिम आआफ्नो विशिष्ट पहिचानलाई कायम राख्दै न्याय र स्वतन्त्रताको साझा मूल्यमा बाँधिएर बसेका छन्। नेपालीहरुको पनि संयुक्त राज्य अमेरिकामा आफ्नै विशिष्ट पहिचान बन्दै गएको देखिएको छ। अमेरिकी मूलधारमा नेपाली समुदायको महत्व बढ्दै गएको छ। यो सबै नेपाली- नेपालीबीचको भाइचारा र एकताले सम्भव भएको हो। अतः आगामी दिनहरुमा नेपाली-नेपालीबीच आपसी समझदारी र सौहाद्रता अझ विस्तार र मजबुत हुँदै जाओस् भन्ने मेरो शुभकामना छ ।
नेपाली समुदायको पहिलो पुस्ताले नै जुन प्रकारको सफलता संयुक्त राज्य अमेरिकामा हासिल गरेको छ, त्यो निकै प्रशंसनीय छ। यहाँहरुको सफलतामा राजदूतावास अत्यन्त खुसी छ ।
यहाँहरुलाई थाहा नै छ नेपाल आर्थिक सामाजिक प्रगतिको बाटोमा लम्किन आतुर छ। यसका लागि नेपाल सरकारको पूँजी परिचालन मात्र पर्याप्त छैन। गैर-आवासीय नेपालीहरुले नेपालका विभिन्न जलविद्युत योजना, होटेल, बैंक तथा वित्तीय संस्था, शैक्षिक संसथा तथा अस्पतालहरु मा लगानी गरेका छन् । यस किसिमका लगानीले मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सृजनामा ठूलो योगदान पुऱ्याइरहेको छ। तसर्थ, यहाँहरुले आफ्नो व्यापार व्यवसाय विस्तार गर्ने सोच बनाउनुभएको छ भने नेपाललाई आफ्नो लगानीको गन्तव्य बनाउन म अनुरोध गर्दछु। अन्य विदेशी लगानीकर्ताभन्दा तपाईहरुलाई नेपालमा लगानी गर्न थप सहजता र सुविधा छ । नेपाली भाषा र नेपली मूल्यमान्यता एवं कार्यसंस्कृतिको ज्ञानको कारण यहाँहरुलाई नेपालको सरकारी र नीजि क्षेत्रमा बाटो पहिल्याउन सहजता हुन्छ ।
सूचना प्रविधि, पर्यटन लगायतका अन्य सेवा क्षेत्र तथा जलविद्युत उत्पादन, भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्र तुलानात्मक लाभको हिसाबले उच्च सम्भावाना भएका क्षेत्रहरु रहेको कुरा यहाँहरुलाई थाहै छ । यहाँहरुले चाल्ने हरेक सकारात्मक कदमहरुमा हातेमालो गर्न नेपाली राजदूतावास तयार रहेको भरोसा दिलाउन चाहन्छु ।
अन्त्यमा, हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका सबै अतिथिहरुलाई धन्यवाद दिँदै सगुन प्रस्ताव (Toast Proposal) का लागि म गैर-आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष श्री अर्जुन बन्जाडेलाई मञ्चमा आमन्त्रण गर्दछु । कृपया यहाँहरु सबैले आ-आफ्नो ग्लास उठाइदिन अनुरोध गर्दछु ।
नेपाल-अमेरिका सम्बन्ध दिगो रहोस्। नेपाल राज्यको सधैं कल्याण होस् । Cheers! जय होस् ।
धन्यवाद !
(राष्ट्रिय दिवस २०२४ को उपलक्ष्यमा अमेरिका स्थित नेपाली दुतावासद्वारा गत बिहीवार साँझ वासिङ्गटन स्थित नेपाली राजदुतावास निवासमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका का. वा. राजदूत कुमारराज खरेलको मन्तब्य)