पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा ‘वन वर्ल्ड फेस्टिभल’, नेपाली स्टलमा सहभागीको आकर्षण

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा ‘वन वर्ल्ड फेस्टिभल’ मनाइएको छ।
विश्वको जुनसुकै मुलुकबाट आएर ल्यानक्यास्टरमा बसोबास गरेकाहरूलाई एक आपसमा घुलमिल गराउन महोत्सवको आयोजना गरिँदै आइएको छ।
एसियाली, ग्रीक, ल्याटिन/हिस्पानिक, अफ्रिकी, आयरिश, जर्मन, इटालियन र यहुदी समुदाय महोत्सवमा सहभागी हुँदै आएका छन्। तेस्रो पटक महोत्सव आयोजना भएको हो। महोत्सव आइतवार फ्राङ्कलिङ्ग एन्ड मार्सल कलेजको हलमा भएको थियो।
यस पटको महोत्सवमा नेपालको पनि प्रतिनिधित्व गरिएको थियो। नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाबाट नेपालको प्रतिनिधित्व गरिएको थियो।
नेपालको स्टलमा जीवित देवी कुमारी, सगरमाथा सहितका हिमालयन शृखलाको पोस्टरहरू राखिएका थिए। महोत्सवमा ६ हजार व्यक्तिले भ्रमण गरेको आयोजकको दाबी छ। महोत्सवमा सहभागीहरूको आकर्षणमा नेपाल स्टल परेको थियो।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाकी अध्यक्ष अर्चना शर्माका अनुसार सहभागीहरूले नेपालबारे चासो राखेका थिए। अध्यक्ष शर्माले महोत्सवका आगामी संस्करण देखि अझ व्यवस्थित रूपमा सहभागिता जनाउने बताइन्। ल्यानकास्टर काउन्टीमा नेपाली र नेपाली भाषी भुटानी समुदायको उल्लेख्य बसोबास छ।
महोत्सवमा नेपालीभाषीले सञ्चालन गरेका रेस्टुरेन्टहरूले खानाको स्टल राखेका थिए। ल्यानक्यास्टरमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्ट ताज महल र ह्यारिसबर्गमा नेपाली भाषी भुटानीहरूले सञ्चालन गरेको इन्डियन करीले खानाको स्टल राखेका थिए।
दुवै स्टलका खाना सबै बिक्री भएका थिए। ‘हामीले लगभग १३ जनालाई खाना खुवायौ।’ ताज महलका व्यवस्थापक मदन पन्तले समाज टाइम्स सँग भने।
महोत्सवमा विभिन्न देशका घरेलु उत्पादहरु पनि बिक्रीमा राखिएको थियो। महोत्सवमा विभिन्न देशका नृत्य पनि प्रस्तुत गरिएको थियो।
यसै बिच महोत्सवकी अध्यक्ष दीपा बलेपुरले महोत्सवमा नेपाल जोडिएकोमा खुसी व्यक्त गरिन्। उनले अर्को वर्ष देखि नेपाली नृत्य पनि महोत्सवमा सहभागी गराइने बताइन्।
‘वन वर्ल्ड फेस्टिभलले हामीलाई हाम्रो साझा मूल्य र विशिष्टता एकै दिन र एकै ठाउँमा साझा गर्न अनुमति दिन्छ, एक अर्काको परम्पराको स्वीकृति एक छनोट हो, र हामी ल्यान्कास्टर काउन्टी समुदायमा खुसीसाथ ल्याउन कार्यक्रम गर्दै आएका छौ।’ दीपाले भनिनन्।
महोत्सवका झलक